चितवन : यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनःदेखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।
चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने छैन, क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाइ गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।”
त्यसैगरी दूरदराजमा रहेका बिरामीलाई पहिलो पटक क्यान्सर पहिचान भएपछि नन क्यान्सर अस्पतालका चिकित्सकले प्रथम चरणमा कसरी उपचार सुरु गर्ने भन्ने ज्ञान नहुने हुँदा त्यसलाई सहजीकरण गर्न पनि यो सेवा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । डा साहले भन्नुभयो, “हामीले आवश्यक परेमा नन क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई मोबाइलमार्फत नै तत्कालको उपचार र रिफर कसरी गर्ने भन्नेबारेमा सहजीकरण गर्नेछौँ ।”
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले दूरदराजमा रहेका बिरामीलाई लक्षित गरी हटलाइन सेवा शुभारम्भ गरिएको बताउनुभयो । ‘एक्युट अङ्कोलोजी’ सर्भिसको तालिम प्राप्त चिकित्सक र नर्सले चौबीसै घण्टा मोबाइलबाट सेवा दिने उहाँले बताउनुभयो । दुरदराजमा रहेका बिरामीको रिपोर्ट मगाएर वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने उपचार तथा प्रक्रियाका बारेमा यसबाट सुझाव दिइने उहाँको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij