Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

तनहुँ : जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् । दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा डीबी क्षेत्रीले जानकारी दिए । ‘पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ’, उनले भने ।

ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा. क्षेत्रीले जानकारी दिए । उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ ।

अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपीडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ ।

विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ । यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा.डीबी क्षेत्रीले जानकारी दिए ।

गाउँपालिकाको स्रोतमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ

यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ । उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।

आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा क्षेत्रीले बताए । उनले भने, ‘जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ । आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्यक्रिया गर्नुपर्ने होइन । यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ ।’

अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताए । ‘यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबिचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट