पोखरा : गण्डकी प्रदेश सरकारले छनोट गर्ने र आगामी वर्ष कार्यान्वयन हुने समपूरक तर्फका १० मध्ये धेरै योजना गोरखा, कास्की र स्याङ्जामा परेको छ । गोरखामा ३, कास्की र स्याङ्जामा २–२ वटा योजना परेको हो । बाँकी ३ योजना, बागलुङ र म्याग्दीमा बाँडिएको छ ।
गोरखाको चनौटेबाट ढिस्का हुँदै भच्चेक सडकका लागि गण्डकी प्रदेश सरकारले ९ करोड ९१ लाख विनियोजन गरेको छ । त्यति नै रकम संघले समपूरक शीर्षकमा दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने यो सडकले आगामी वर्ष कार्यान्वयन हुने गरी १९ करोड ८२ लाख रुपैयाँ बजेट पाएको छ ।
गोरखाकै सिउरेनीटारदेखि घ्याल्चोक, फिस्लिङ हुँदै रबर उद्योग जोड्ने सडकलाई प्रदेशले २ करोड ३१ लाख र संघले समपूरक शीर्षकमा २ करोड ३१ लाख विनियोजन गरेको छ । यो सडकले आगामी वर्ष ४ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । यो क्षेत्रबाट गण्डकीका सभामुख कृष्ण धिताल निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नन्दप्रसाद न्यौपाने निर्वाचित भएको क्षेत्रमा पर्ने चुवाडाँडा, पेल्चेत, कटुन्जे हुँदै काशीगाउँ, केरौंजा, रुन्चेत जोड्ने सडकमा ६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । प्रदेशले ३ र संघले ३ करोड रुपैयाँ यसमा विनियोजन गरेका हुन् ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीको निर्वाचन क्षेत्रमा मात्रै २ वटा समपूरकतर्फको बजेट परेको छ । कास्की १ (१)मा पर्ने रुपा रिङरोडले २७ करोड १८ लाख पाएको छ । प्रदेशबाट १३ करोड ५९ लाख र संघबाट १३ करोड ५९ लाख यो सडकमा विनियोजन भएको हो । रुपा रिङरोडले रामकोट ठुलीबेसी, स्यास्त्री, देउपुरबेंसीबाट पोल्याङ जोड्छ । आगामी वर्षको अर्को समपूरक योजना सात ताल लिंक रोड नामको शीर्षकमा विनियोजन गरिएको छ । यसमा प्रदेश र संघको समान ३ करोडका दरले ६ करोड विनियोजन भएको हो । स्याङखुदीदेखि सुरु हुने यो सडकको काम लामास्वारा, लेखनाथ जन्मस्थल हुँदै कालिकाचोक जोडिन्छ ।
स्याङ्जाको गल्याङ चापाकोट सडकले प्रदेश र सङ्घबाट ७ करोड ९ लाखका दरले १४ करोड १८ लाख रुपैयाँ पाएको छ । अर्को समपूरक पनि स्याङ्जामै परेको छ । ज्याग्दी कोरिडोरमा ६ करोडको योजना परेको हो । यो सडक दमाचौर–बिरुवा खण्डमा पर्छ । पर्वतको रतिखोलादेखि दराक, चित्रे, गगटे, राम्जा सडकलाई १४ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीको क्षेत्रमा पर्ने दरबाङ ताकम, सिवाङ, मुनादेखि जलजला हुँदै ढोरपाटन जोड्ने सडकमा प्रदेश र संघले समान ११ करोड ६१ लाखका दरले बजेट दिएको हो । दुईतिरको बजेट जोड्दा यो सडकले २३ करोड २२ लाख पाएको छ ।
अर्को समपूरकतर्फको योजना बागलुङले पाएको छ । बागलुङको तमानखोलाको बोंगादोभानबाट तमान लामेला हुँदै शोलेबाट म्याग्दी जोड्ने सडकमा ६ करोड छुट्ट्याइएको हो । सरसर्ती हिसाब गर्दा हालका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै ६५ करोडभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजन भएको छ ।
कास्की क्षेत्र नम्बर १ (१) र गोरखा क्षेत्र नम्बर २ (२) भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत धेरै बजेट पाउने निर्वाचन क्षेत्र हुन् ।
विशेषतर्फका ठुला योजना पनि पहुँचवालातिरै पुगेको छ । गोरखाको खारखोला नदी व्यवस्थापनका लागि ३ करोड ५० लाख, खहरे चुक्तिखोला नदी व्यवस्थापनका लागि ३ करोड ५० लाख बजेट छ । लमजुङको राइनासटार सिँचाइ योजनामा ३ करोड ५० लाख, तनहुँको भानुभन्सार खानेपानी आयोजनामा १ करोड ५० लाख, गोरखाकै चुमनुब्री बृहत् खानेपानी आयोजनामा १ करोड २० लाख, स्याङ्जाको विर्घा सिमलबगर खानेपानी आयोजनालाई १ करोड २० लाख, बागलुङमा बाढीबाट क्षतिग्रस्त सिँचाइ आयोजना पुनःस्थापना र विपद् जोखिम न्यूनीकरण गर्न ३ करोड ५० लाख, नवलपुरको लोकाहा खोला नदी व्यवस्थापन ३ करोड विनियोजन गरिएको छ ।
सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुरलाई ७ करोड ४० लाख, अस्पतालहरूमा एनआइसीयू एसएनसीयू सेवा विस्तारका लागि १ करोड ६४ लाख विनियोजन गरिएको छ । बाँकी झण्डै १ सय विशेषतर्फका आयोजना करोडभन्दा मुनिका छन् ।
आगामी वर्षको बजेट हेर्दा हालका मुख्यमन्त्री पाण्डेको जिल्ला, निवर्तमान मुख्यमन्त्री अधिकारीको जिल्ला र हालका अर्थमन्त्री डा. टकराज गुरुङको जिल्ला एकातिर राखेर बाँकी ८ जिल्लाको बजेट बराबर हुन आउँछ । तीन जिल्लाको हिसाब गर्दा ४ अर्ब ३६ करोड छ भने बाँकी ८ जिल्लामा ४ अर्ब ४४ करोड बजेट हुन आउँछ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी कास्कीमा १ अर्ब ८५ करोड छ भने गोरखामा १ अर्ब ६० करोड तथा लमजुङमा ९१ करोड छ ।
अर्थसचिव राजेन्द्रदेव पाण्डेको जिल्ला तनहुँमा पनि ९४ करोड बजेट गएको छ । झन्डै २३ करोड बजेट भानु नगरपालिकामा मात्रै विनियोजन गरिएको छ । त्यसपछि धेरै बजेट पाउनेमा स्याङ्जा छ । स्याङ्जाले ९५ करोड १७ लाख रुपैयाँ पाएको छ । मनाङ र मुस्ताङ अहिले पनि बजेटमा हेपिएका छन् । मनाङले २० करोड ८१ लाख र मुस्ताङले १९ करोड ४१ लाख पाएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij