Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मनसुन भित्रिएसँगै बढ्न थाले सङ्क्रामक रोग, कस्तो छ सरकारको तयारी ?

मनसुन भित्रिएसँगै बढ्न थाले सङ्क्रामक रोग, कस्तो छ सरकारको तयारी ?

काठमाडौँ : मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्न थालेको छ । पछिल्लो दुई सातायता डेंगु, झाडापखला, रुघाखोकी, ज्वरो, कोभिड र सर्पदंशका बिरामीहरूको चाप अस्पतालमा देखिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष तुलनात्मक रूपमा बढी पानी पर्न सक्ने आकलन गरेको छ, जसले सरुवा रोगहरू बढी मात्रामा फैलिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक बिरामीको चाप बढ्न सुरु भएको देखिएको छ ।

यहाँ औसतमा १२ देखि १५ जना झाडापखालाका, करिब २५ जना ज्वरो रुघाखोकीका र १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि पुग्न थालेका अस्पताल प्रशासन बताउँछ । यस्ता बिरामीहरू काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूका बढी छन् । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मौसम परिवर्तनसँगै सरुवाजन्य रोगका बिरामी आउन थालेका बताए ।

कोरोना सङ्क्रमण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोरोना भाइरस सङ्क्रमणका केस पनि बढ्न थालेको छ । पछिल्लो सात दिनमा सबैभन्दा बढी बागमती प्रदेशमा २२ जना, मधेस प्रदेश ४ जना, सुदूरपश्चिममा ४ जना र कोसीमा ३ गरी ३३ जनामा यो पुष्टि भएको छ ।

पुस १७ यता कोरोनाबाट १६० जनामा सङ्क्रमण पुष्टि भएको बुढाथोकीले जानकारी दिए । छिमेकी राष्ट्र भारतमा यसको सङ्क्रमण दर ह्वातै बढेकाले सचेत हुन पनि उनले सुझाए । तर यता सरुवा रोग विशेषज्ञ डा.पुन भने यो ‘ओमिक्रोन भेरियन्ट’कै नयाँ पुस्ता ‘मिक्सअप’ भएर आएकाले आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताउँछन् । ‘ओमिक्रोनले बुढाबुढी, दीर्घरोगी, प्रतिरोधात्मक क्षमता र शारीरिक रूपमा कमजोरलाई अलिकति सकस बनाउन सक्छ,’ उनले भने ।

तर कोभिड–१९को जस्तो लक्षण देखिएमा बेवास्ता नगर्न उनले सुझाए । तर सङ्क्रमण भइहाले नआत्तिन पनि उनले अनुरोध गरे ।

डेंगु मनसुन सुरु भएसँगै डेंगुका बिरामी पनि बढ्न थालेका छन् । इडीसीका अनुसार एक साता मात्र ४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै लुम्बिनीमा १८ जना छन् । त्यस्तै बागमतीमा १०, गण्डकीमा ८, कोशीमा ५, मधेसमा २ र सुदूरपश्चिममा एक जनामा यसको पुष्टि भएको छ । डेंगुको लक्षणबारे उनै डा. पुन भन्छन्, ‘वार्निङ साइन देखिन्छ, यसले जिउ दुख्ने हुन्छ अनि सञ्चो भइहाल्ने पनि हुन्छ ।’

डेंगुको लक्षण देखिए स्वास्थ्यमा जटिलता आई मृत्युसमेत हुन सक्ने भएकाले एकदमै सचेत हुनुपर्ने उनी सुझाउँछन् । पछिल्लो समय डेंगुलाई गम्भीर रूपमा लिने नगर्दा सङ्क्रमितहरूमा स्वास्थ्य समस्या बढ्न थालेको पनि उनले बताए । यस्तो वेला अफिस नजाने, घरमै आराम गरेर बस्ने गर्नुपर्ने उनको सुझाव छ ।

डेंगुमा पनि कोरोनाजस्तै मिल्दोजुल्दो सङ्क्रमण देखिने उनी बताउँछन् । तारनतार बान्ता हुने, नाक अथवा गिजाबाट रगत आउने, पेट असाध्यै दुख्ने र आलस्य बढ्ने देखिए घरमै आराम गर्न उनले अनुरोध गरे । र यिनै चार लक्षण नै ‘वार्निङ साइन’ मानिने उनले बताए ।

गत वर्ष अधिकांशमा नाक, गिजाबाट रगत बग्ने, महिनावारीको समयमा रगत धेरै बग्ने समस्या लिएर बिरामीहरू अस्पताल गएका उदाहरण दिँदै उनले डेंगुको ‘वार्निङ साइन’लाई बहसमा ल्याउनुपर्ने तर्क गरे ।

बिरामीको स्वास्थ्य जाँच रिपोर्टअनुसार पेट वा छातीमा पानी जम्ने, कलेजोको आकार बढ्ने र रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र गतिमा घट्ने देखिए अवस्था जटिल मान्न पनि उनको सुझाव छ । त्यस्तै स्क्रब टाइफस पनि यस वर्ष देखिन सक्ने अर्को जोखिम भएकाले सचेत उनले आग्रह गरे ।

पूर्वतयारी मनसुनसँगै भित्रिने यस्ता सङ्क्रामक रोग फैलिन नदिन स्वास्थ्य मन्त्रालयले मेचीदेखि महाकालीसम्म २५ वटा ‘हब हस्पिटल’मा दुई–दुई वटा इमर्जेन्सी मेडिकल टिम पनि तयारी अवस्थामा राखिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । यस्तै उनका अनुसार हरेक जिल्ला, पालिका र त्यसभन्दा तल्लो तहमा सङ्क्रमण रोगसम्बन्धी ‘र्‍यापिड रेस्पोन्स’ टिमहरू पनि तयारी अवस्थामा राखिएका छन् । ‘हामीले यति तयारी गरेका छौँ, यसमा जनता र जनप्रतिनिधिले साथ दिनुपर्छ,’ उनले भने, ‘सरकारको एक्लो तयारीले पुग्दैन ।’

यस्तै मन्त्रालयले विपद् अवधिभर विशेषज्ञ वा स्वास्थ्यकर्मीलाई लामो बिदामा नबस्न पनि अनुरोध गरेको उनले बताए । सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रममार्फत पखालाजन्य रोगहरू निदानका लागि जनचेतना फैलाउने काम पनि गरिरहेको छ ।

आवश्यक सरसामान, औषधिहरूको भण्डारण र मनसुनमा देखिने रोगबारे विज्ञहरूलाई तालिम पनि दिने काम भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट