Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती बजेट : चितवनलाई पर्यटनको हब, गौतमबुद्ध क्रिकेट रंगशालालाई ९ करोड

बागमती बजेट : चितवनलाई पर्यटनको हब, गौतमबुद्ध क्रिकेट रंगशालालाई ९ करोड

चितवन : बागमती प्रदेश सरकारले चितवनलाई प्रदेशको पर्यटनको हबकोरुपमा विकास गर्न बजेट विनियोजन गरेको छ। आइतबार प्रस्तुत बजेट वक्तव्यमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशमा रहेका पर्यटकीय, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धनगरी बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्रका रुपमा स्थापित गरी चितवनलाई प्रदेशको पर्यटन हबकारुपमा विकास गर्न रकम विनियोजन गरेको जानकारी गराए।

जिल्ला समन्वय समिति चितवनको संयोजनमा जिल्लाका स्थानीय तह, पर्यटन व्यवसायीहरुसँगको छलफलबाट चितवनलाई बागमती प्रदेशको पर्यटनको राजधानी बनाउन प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको नेतृत्वमा उक्त निर्णय प्रदेश सरकारलाई बुझाइएको थियो।

अधिकारीले जिल्लाले गरेको सिफारिसलाई प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वीकार गरेको बताए। यो निर्णयले चितवनलाई समग्र देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचत गराउने विश्वास गरिएको अधिकारीको भनाइ छ।

आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आगामी वर्ष संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। यस मन्त्रालय अन्तर्गत बागमती प्रदेश सरकारले प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीका रुपमा विकास गर्नका लागि बजेट विनियोजन गरेको छ।

बागमती प्रदेश भित्रका ७ हजार मिटरभन्दा कम उचाइका अपरिचित हिमशिखरहरुको अन्वेषण र आरोहणलाई प्रवर्द्धन गर्ने बजेट वक्तव्यमा उल्लेख छ। साहसिक पर्यटन क्षेत्रमा पर्यटकीय आगमनलाई बढावा दिन प्रदेशमा रहेका ६ हजार मिटरसम्मका हिमालहरुलाई ट्रेकिङ पिककोरुपमा विकास गर्ने मन्त्री काफ्लेले बताए।

त्यस्तै उच्च पहाडी क्षेत्र, हिमाली क्षेत्र र महाभारत पर्वत शृंखलामा रहेका पदमार्गको पहिचान र विकास गरि मकवानपुरगढीदेखि सिन्धुलीगढी, कालिगण्डकीदेखि कालिञ्चोक, गौरीघाटदेखि गोसाइकुण्ड र रानीपोखरीदेखि पाँचपोखरी जोड्ने ऐतिहासिक एवम् धार्मिक महत्वका क्षेत्रहरुलाई जोडी पर्यापर्यटन र धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ।

बागमती प्रदेश सरकारले यस वर्ष विपद् पर्यटनको सम्भाव्यता अध्ययन गर्दैछ। ‘प्राकृतिक प्रकोप र विपद्ले नोक्सानी र क्षति मात्रै होइन अवसर पनि सिर्जना गर्छ भन्ने मान्यता स्थापित गर्न विभिन्न घटना परिघटना एवम् प्राकृतिक घटनाले सिर्जित स्थानलाई स्मारकका रुपमा विकास गरी विपद् पर्यटन सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरेको छु,’ मन्त्री काफ्लेद्वारा प्रस्तुत बजेट बक्तव्यमा उल्लेख छ।

साथै स्थानीय तहसँगको साझेदारीमा हेलम्बु ग्रेट ट्रेल सिन्धुपाल्चोक, किस्पाङ नौ घडरी पर्यटकीय प्रवर्द्धन नुवाकोट र शैलुङ मिनी ग्रेटवाल दोलाखामा आकर्षक एवम् रमणीय पार्कहरु निर्माण गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। बृहत् सम्भावना बोकेका साहसिक पर्यटन प्रवर्द्धनका लागि एडभेन्चर टुरिजम फेस्टिभल आयोजना गर्ने, प्रदेशभित्र प्याराग्लाइडिङको लागि उपयुक्त स्थानको सम्भाव्यता अध्ययन गरी कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको छ।

बागमती प्रदेश सरकारले बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहलगानीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

त्यस्तै, संघीय सरकारसँगको सहकार्य तथा साझेदारीमा स्मार्ट स्पोटस् सिटीको अवधारणाअनुसार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला निर्माण कार्य अगाडि बढाउन ९ करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षम मकवानपुरको गौरिटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला र दोलखाको भिमेश्वर बहुउद्देश्यीय रंगशाला निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य पनि प्रदेश सरकारले लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij