विराटनगर : कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्षमा गरेका प्रगति विवरणसहितको आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा सडक, पुल, खानेपानी, सिँचाइलगायत स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको प्रगतिको विवरण उल्लेख छ । प्रतिवेदनमा प्रदेश सरकारले सुशासन र आर्थिक अनुशासनमा पनि सुधार गर्दै लगेको तथ्याङ्क छ ।
यो पनि आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम, गरिबी घटाउन सफल
प्रतिवेदनका अनुसार कोशी प्रदेशमा हाल ३ लाख ५९ हजार ९६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जसमध्ये वर्षैभरि सिँचाइ सुविधा पुगेको क्षेत्रफल ३७.३ प्रतिशत छ । साना सिँचाइ कार्यक्रम मार्फत प्रदेश सरकारले १ हजार १५७ वटा कृषक कुलो सुधार भएर २० हजार ४ सय हेक्टर जमिनमा सिँचाइ सुविधा व्यवस्थित गरेको छ । प्रदेशमा हालसम्म ३९० किलोमिटर तटबन्ध निर्माण भएको छ भने ८३ वटा पहिरो व्यवस्थापनको काम भएको छ ।
यस्तै प्रदेश सरकारबाट निर्माणाधीन ७७ वटा बहुवर्षीय सडक आयोजनामध्ये २०८१ चैत सम्ममा ३९ वटा सडक निर्माण सम्पन्न भएको छ । ती सडकको जम्मा लम्बाई ४ सय ४८.६४ किलोमिटर रहेको छ । यस्तै कोशी प्रदेश सरकार स्थापना भए यता गत चैत मसान्तसम्ममा ९३ वटा मोटरेबल पुल, २२४ झोलुङ्गे पुल निर्माण भएको छ । यस अवधिमा १ हजार ४२०.५७ किलोमिटर ग्राभेल, १ हजार २ सय किलोमिटर कच्ची सडक र ६१२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।
यस्तै प्रदेशले यो अवधिमा जनता आवास कार्यक्रम मार्फत ७ हजार २ सय ८४ वटा घर निर्माण गरी आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायको नागरिकलाई हस्तान्तरण गरेको जनाएको छ । कोशी प्रदेशका ९३.०६ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको सुविधा पुगेको छ । प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाबाट मात्रै ४५ लाख ९ हजार ४ सय ३० जनसङ्ख्या लाभान्वित भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij