Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कालिका नगरपालिकालाई सुझाव : ‘शिक्षकले सामुदायिक स्कुलमै छोराछोरी पढाउनुपर्ने नीति बनाऊ’

कालिका नगरपालिकालाई सुझाव : ‘शिक्षकले सामुदायिक स्कुलमै छोराछोरी पढाउनुपर्ने नीति बनाऊ’

भरतपुर : कालिका नगरपालिकाभित्र सरकारी सेवामा रहेका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने नीति ल्याउन माग गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा बजेट तर्जुमाका लागि सरोकारवालासँग सुझाव सङ्कलन गर्ने कार्यक्रममा सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारी सेवामा रहेका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने नीति ल्याउन नगरपालिकालाई सुझाव दिएका थिए ।

नगरवासी हरि भण्डारीले सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउन कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुले छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने बाध्यकारी नीति ल्याउन माग गरे । उनले भने, ‘शैक्षिक गुणस्तर बढाउने हो भने यो नीति अवलम्बन गरौँ ।’

सामुदायिक विद्यालयको गुणस्तर सुधारका काम थालेको मोलुङ गाउँपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट भएको उक्त निर्णय २०८२ बाट कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेको छ ।

कालिका नगरपालिकाभरि संस्थागत र सामुदायिक विद्यालयको पाठ्यपुस्तक एउटै बनाउन पनि स्थानीयले माग गरेका थिए । विद्यालयमा अग्निनियन्त्रक सामग्री नभएकोमा केहीले गुनासो गरेका थिए ।

केही सरोकारवालाहरुले कालिका नगरपालिकाको शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापक प्रतिस्पर्धाको आधारबाट छनोट गर्नुपर्ने बताएका थिए । केही विद्यालयहरुले शिक्षक नियुक्ति गर्दाको खर्च धान्न नसकेको समेत गुनासो गरेका थिए ।

यस्तै, कालिका नगरपालिकालाई पहाडी क्षेत्रमा एकीकृत शिक्षा प्रणाली अवलम्बन गर्न माग गरिएको छ । पहाडी क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थी छन्, शिक्षक छैनन्, शिक्षक छन्, विद्यार्थी कम छन् । यस्तो क्षेत्रमा एकीकृत शिक्षा प्रणाली अवलम्बन गर्न पालिकालाई सरोकारवालाले सुझाव दिए ।

दिवाकालीन खाजामा समेत रकम बढाउन माग गरिएको छ । यतिबेला सरकारले कक्षा ५ सम्म प्रतिविद्यार्थी १५ रूपैयाँको दरले दिवा खाजा दिइरहेको छ । कालिका नगरपालिकालाई दिवा खाजामा रकम थप्न स्थानीयले माग गरे । दिवाकालीन खाजामा सरकारले दिएको रकमले नुन किन्यो, तेल किन्न पुग्दैन । तेल किन्यो मसला किन्न पुग्दैन ।

कार्यक्रममा थाङखोला सामुदायिक वनका अध्यक्ष रामबहादुर कार्कीले समग्र सामुदायिक वनको सुधारको माग गरे । कालिका नगरपालिकामा १७ वटा सामुदायिक वन रहेका छन्, ती सबै वनलाई पर्यापर्यटनको रुपमा अगाडि बढाएर उचित बजेट व्यवस्थापन गर्न उनले माग गरेका थिए ।

कालिका नगरपालिकाले फोहर व्यवस्थापनका लागि ल्यान्डफिल साइड आवश्यक भएको र फोहर व्यवस्थापनका लागि उचित गृहकार्य गर्न सरोकारवालाले सुझाव दिएका थिए ।

कार्यक्रममा रेडक्रसकर्मी मिलन पाण्डेले रेडक्रस सोसाइटी शक्तिखोरले एम्बुलेन्स सञ्चालनका लागि बजेट अभाव भएको बताउँदै समग्र स्वास्थ्य क्षेत्रप्रति गम्भीर बन्न पालिकालाई आग्रह गरेका थिए ।

सहभागीले टोल विकास संस्थालाई सक्षम बनाउने किसिमको रणनीति ल्याउनसमेत माग गरेका थिए । खेलकुद, रोजगारीको क्षेत्रमा पनि योजनाहरु ल्याउन नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका थिए । यसबाहेक व्यावसायिक तालिम, मनोसामाजिक परामर्शलगायतका कार्यक्रम ल्याउन माग गरेका थिए । कालिका नगरपालिकामा रिङरोड, सडक कालोपत्रे, लागू पदार्थ दुव्र्यसनी न्यूनीकरणलगायतका कार्यक्रम ल्याउनसमेत माग गरिएको थियो ।

यस्तै, कार्यक्रममा किसानले तरकारीको मूल्य नपाएको भन्दै तरकारी पालिका आफैँले खरिद गर्ने नीति अवलम्बन गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

नगरप्रमुख विनोद रेग्मीले स्थानीय सरोकारवालाहरुका सबै माग अत्यन्तै राम्रा भएका र आएका सबै सुझाव, कार्यक्रमहरुलाई योजना बैंकमा राखेको बताए । उनले भने, ‘ज्यादै राम्रा सुझाव र कार्यक्रमहरु आए, यी सबै लाभदायक र फाइदाजनक छन्, स्रोतसाधनले भ्याएसम्म पालिकाले पूरा गर्दै लैजान्छ ।’ कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij