चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फार्मेसीको शाखा विस्तार गरिएको छ । अस्पताल भित्रै फार्मेसीको तेस्रो शाखा विस्तार गरिएको हो ।अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा सञ्चालन गरिएको छ । भर्ना नगरी केमो थेरापी चढाउनु पर्ने बिरामी डेकेयरमा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उपनिर्देशक डा. नेपालले बताउनुभयो ।
उहाँका अनुसार ओपीडि फर्मेसीबाट बीमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरंग भवनभित्र विपन्न सहित नगदमा चौबीसी घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । फार्मेसीको तेस्रो शाखा सञ्चालन गरेसँगै अरु दुई वटा शाखामा चाप कम हुने र बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने उहाँको भनाई छ ।
अस्पतालका फार्मेसी इञ्चार्ज सुष्मा आचार्यले डेकेयर फर्मेसीबाट विपन्न मार्फत् र नगदमा औषधि खरिद गर्न सकिने बताउनुभयो । भर्ना नभईकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उहाँले जानकारी दिनुभयो । इञ्चार्ज आचार्यले भन्नुभयो “डे केयर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहन्छ, त्यहाँको फार्मेसी पनि त्यति नै समय खुल्ला हुन्छ ।”
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीहरुलाई औषधि किन्न लाईन बस्नु पर्ने बाध्यतालाई न्यूनिकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताउनुभयो । निकष्ट भविष्यमै शल्यक्रिया कक्ष (ओटी) र आईसियू बाहिर चौथो फार्मेसी शाखा खोल्ने तयारी गरिएको कार्यकारी निर्देशक डा. पौडेलले बताउनुभयो ।
अस्पतालमा धेरैजसो औषधि रहेको बताउँदै उहाँले हाल नरहेका औषधिको पनि नयाँ टेण्डर गरिएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा. पौडेलले कान्तिपुर हेल्थलाई भन्नुभयो “अहिले अस्पतालमा नपाईएका औषधिहरु पनि थप गरेर टेण्डर खोलेका छौं, अब औषधि किन्न बाहिर गईरहनु पर्ने झन्झट कम हुन्छ ।”
आफूहरुले सबै औषधि अस्पतालमा नै उपलब्ध हुने गरी तयारी गरिरहेको भन्दै उहाँले कहिलेकाहीं सप्लायर्सले समयमा सामान आफूर्ति नगर्दा केही औषधि अभाव हुने गरेको बताउनुभयो । डा.पौडेलले भन्नुभयो “हाम्रो ध्यान कसरी छिटो छरितो र गुणस्तरीय उपचार सेवा दिने भन्नेमा छ ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij