नयाँ दिल्ली : भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ। केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन् । सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन्।
उता, कर्नाटकको मैसूरमा शुक्रबार एक ६३ वर्षीय पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण भएको तेस्रो मृत्यु थियो। अब भारतमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। मेघालयमा ७ महिनापछि २ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् । मिजोरममा २ जनामा सङ्क्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य विभागका अधिकारीहरूले राज्यमा पछिल्लो पटक यस्तो केस रिपोर्ट भएको ७ महिनापछि कोभिडका केसहरू फेला परेको बताएका छन्। मिजोरममा कोभिड-१९ को अन्तिम केस अक्टोबर २०२४ मा रिपोर्ट गरिएको थियो।
भारतका धेरै राज्यहरूमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको बेला, त्यहाँ चार नयाँ भेरियन्टहरू फेला परेका छन्। दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका भएको बताए। नयाँ भेरियन्टहरू पत्ता लगाउन अन्य ठाउँहरूबाट नमूनाहरू लिइँदैछ र अनुक्रमण गरिँदैछ।
यद्यपि डाक्टरहरू सङ्क्रमितको अवस्था धेरै गम्भीर नरहेकाले मानिसहरूले चिन्ता लिनु नपर्ने तर सतर्क भने रहनु पर्ने बताएका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसलाई चिन्ताको विषय मानेको छैन। यद्यपि, यसलाई निगरानीमा रहेको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ। चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा पनि यी भेरियन्ट देखिँदैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij