भक्तपुर : कुनै समय रिफर सेन्टरका रूपमा रहेको वीर अस्पतालपछिको दोस्रो ठुलो र पुरानो भक्तपुर अस्पतालमा १२० वर्षपछि पहिलो पटक सिटी स्क्यान मेसिन सञ्चालनमा आएको छ । सिटी स्क्यान मेसिनको आज बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक समारोहकाबिच औपचारिक उद्घाटन गर्नुहुँदै मेसिन सञ्चालनमा आएको हो ।
सिटी स्क्यान सेवा सुरु भएपछि भक्तपुर बासीलाई उपचारका निम्ति अन्यत्र महँगा अस्पतालमा धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अस्पताल अहिले सुविधा सम्पन्न मात्रै भएको छैन, सेवा गुणस्तरका हिसाबमा देशकै उत्कृष्ट घोषित भएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रालोक डिस्पेन्सरीका नाममा स्थापना गरेको यो अस्पताल लामो समय रिफर सेन्टरकै रूपमा परिचित थियो ।जनगुनासो बढ्दै गएपछि बागमती प्रदेश सरकारको पहलमा कर्मचारीको अथक मेहनतले सुविधा सम्पन्न भएको हो ।
प्रदेश सरकारको सहयोगमा अत्याधुनिक क्षमताको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएपछि अहिले एक हजार दुई सय बढी बिरामीले अस्पतालबाट दैनिक सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न र आवश्यक जनशक्ति तथा सामाग्रीको थप व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको भन्दै मन्त्री किरण थापाले भन्नुभयो, ढुक्कले काम गर्नुहोस्, बिरामीको सेवा गर्नुहोस् । आवश्यक जनशक्ति र सामाग्री प्रदेश सरकारले व्यवस्थापन गर्छ ।
यस्तै प्रदेश सांसद सुरेश श्रेष्ठले सहज र सुलभ सेवा पाउनु आम नागरिक अधिकार भएकाले दत्तचित्त भएर सेवामा खटिन कर्मचारीलाई आग्रह गर्नुभयो । रु ८ करोडको बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले बताउनुभयो ।
अस्पतालमा थप एक करोड १० लाख मूल्यको मेमो ग्राम मेसिन ल्याउने तयारी गरिरहेका उहाँको भनाइ छ । उक्त मेसिन जडानपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङमा सजिलो हुने जिकिर गर्नुभयो । सञ्चालनमा आएको सिटी स्क्यान १० वर्षसम्म कुनै समस्या नआउने र आइहाले मर्मत कम्पनीले नै गरिदिने सम्झौतामा उल्लेख छ ।
अस्पतालमा १० शय्याको डायलिसिस कक्ष पनि तयार पारिएको छ । डायलिसिस मेसिन खरिदमा केन्द्र सरकारको अपेक्षा गर्दै दैनिक सय बढी बिरामीलाई सेवा दिने अस्पतालले जनाएको छ । अब बिरामीले महँगो अस्पताल धाउनु नपर्ने अस्पतालका कार्यकारी निर्देशक डा.सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिन मात्रै सफल भएको छैन, देशकै उत्कृष्ट बन्न कुनै कसुर बाँकी राखेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij