Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा

कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा

काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनपछिको पत्रकार सम्मलेनका क्रममा बोल्दै उनले नेपालमा छाला सम्बन्धी रोगको उपचार गर्ने जनशक्ति अभाव रहेको बताएका हुन् ।

उनले उनले छाला विशेषज्ञहरुको दरबन्दी पुरानै रहेको र दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी रहेको बताए । दरबन्दी थप्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नभएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालएको भएकाले मन्त्रालयले बिस्तारै दरबन्दी थप गरेपनि पर्याप्त नरहेको बताए ।

सबै ठाउँमा दरबन्दी पठाउन नसकेको स्वीकार गरे । कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानूनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

मानिसको छालामा फुस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङ्ग हुने सम्भावना रहने चिकित्सकहरुको भनाइ छ । नेपालमा प्रत्येक बर्ष करिव २ हजार ८ सय ६७ वटा कुष्ठ रोगका नयाँ बिरामी दर्ता हुने गरेको तथ्याङक छ । हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिव ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान छ ।

उनले भने, ‘दरबन्दी हाम्रो पुरानै छ । दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी थियो । त्यो पुरानै दरबन्दी अहिले पनि कायम छ । छात्रवृत्तिमा थोरै छन् जनशक्तिहरु । तर पठाएकै छ । हुनतः पठाउने स्वास्थ्य मन्त्रालयले हो । विभिन्न ठाउँमा पठाएको छ तर अहिले पनि अपर्याप्त त छँदैछ । सबै ठाउँमा पठाउन सकिएको छैन ।’

आजबाट नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । बिहीबार काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरे । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानून समाजका अध्यक्ष एवं पूर्वउपसभामुख पुष्पा भुसाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.राजेश सम्भाजिराओ, संगठनका गुडवील एम्बास्डर योही साकाकावा, सहआयोजकका तर्फबाट शोभाखर कँडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले सम्मेलनका क्रममा उच्चतम स्तरको राजनीतिक प्रतिवद्धताका लागि वकालत गर्ने, कुष्ठरोग उल्मुलन तथा बिरामीको सहयोग र सुधारका लागि थप बल प्रदान गर्ने तथा प्रभावित व्यक्तिको समावेशीकरण र स्वीकार्यता अभिवृद्धिका लागि सक्दो प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे ।

सासाकावा लेप्रोसी इनिसेटिभ,नेपाल कानून समाज,विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोगनिवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकारसहित करिब ३ सय जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास अभिवृद्धि सम्बन्धी विषयगत छलफलका साथै प्रदेश र स्थानीय तहमा कुष्ठरोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुनेछ । साथै, कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्युनिकरण तथा मानवअधिकार सम्बन्धी छलफल र प्रस्तुति हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट