चितवन : भरतपुर अस्पतालमा क्याथ ल्याबसहितका ९ वटा नयाँ सेवा शुभारम्भ गरिएको छ ।अस्पतालले सुरु गर्न लागेको क्याथ ल्याब, जलन वार्ड, सिमुलेसन ल्याब, फर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट, क्याडाभर ल्याब, पीएसीएस, चाइल्ड प्ले थेरापी र योग तथा ध्यान कक्षको शुभारम्भ गरिएको हो सञ्चालनमा आउन लागेका सबै नयाँ सेवाहरुको तयारी पुरा भएको अस्पतालले बताएको छ।
क्याथ ल्याबसहित नौ वटा नयाँ सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट शुभारम्भ गरेका हुन् । हृदयघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोगलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयघात हुनेगर्छ ।
मुटुको शल्यक्रिया ओपनहार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ । सरकारी अस्पतालमा क्याथ ल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । संघीय सरकार र अस्पताल विकास समितिको गरी कुल १३ करोड ७० लाख रूपैयाँमा क्याथल्याब सुरू गरिएको पौडेलले जानकारी दिए । त्यसमध्ये संघीय सरकारको सात करोड र समितिको छ करोड ७० लाख रुपैयाँ लगानी रहेको उनी बताउँछन् ।
‘पीएसीएसमा एमआरआई, सिटी स्क्यान र एक्सरे रिपोर्टहरु डिजिटल माध्यमबाट विरामी भर्ना भएर बसेका सम्बन्धित वार्डहरुबाटै हेर्न मिल्छ । रिपोर्टहरु हातमा लिएर हिँड्नु पर्दैन’, उनले भने, ‘यसको पनि मन्त्रीज्युले कम्प्युटरबाट अपरेटिङ गरेर शुभारम्भ गर्ने कार्यक्रम छ ।’
आइसियूसहितको सात बेडको जलन वार्डको पनि आज शुभारम्भ गरिएको छ । अस्पतालमा हाल तीन बेडको मात्रै जलन वार्ड सञ्चालनमा छ । त्यस्तै, निःसन्तानपनको उपचारका लागि फर्टिलिटी क्लिनिक सञ्चालन गरिएको उनले बताए । यहाँ कृत्रिम गर्भाधानबाट निःसन्तापनको उपचार गरिनेछ । क्लिनिकबाट टेस्टट्युबबाहेकका सेवा पाउन सकिनेछ ।
सिमुलेसन ल्याबमा नयाँ चिकित्सकहरुलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुलेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने उनले बताए ।
स्तनपानलाई प्रवद्र्धन गर्न ल्याक्टेसन म्यानेजमेन्ट युनिट स्थापना गरिएको छ । स्तनपान गराउने महिलाको दूध यहाँ भण्डारण गर्न सकिने पौडेल बताउँछन् । शल्यचिकित्सा प्रशिक्षणको लागि क्याडाभर ल्याब स्थापना गरिएको छ । यस ल्याबमा चिकित्सा क्षेत्रका विद्यार्थी, सर्जनलगायतले मानवको मृत शरीरमा अनुसन्धान गर्न र शल्यक्रिया सीपको विकास गर्न सक्नेछन् ।
क्याथ ल्याबबाहेक अन्य नयाँ सेवाहरुका लागि भएकै कर्मचारीहरुलाई परिचालन गरिने मेसु पौडेलले बताए । क्याथ ल्याबको लागि चार जना चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मी तयार गरिएको छ । क्याथ ल्याब बाहेक अन्य नयाँ सेवाहरुको लागि संरचना, मेशिनरी औजार, फर्निचर लगायतमा दुई करोड २४ लाख रुपैयाँ खर्च लागेको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij