कैलाली : भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार, भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले खड्काको पक्राउ पुष्टि गर्दै हाल अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नसकिने जानकारी दिए।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लको अगुवाइमा भारतमा सुन चोरी गर्ने र त्यसलाई नेपालमा खरिदबिक्री गर्ने गिरोहमाथि व्यापक अनुसन्धान शुरु गरिएको छ। यही क्रममा धनगढीका दुई जना सुनचाँदी व्यवसायी समेत नियन्त्रणमा लिइएको छ, तर उनीहरूको नाम अहिलेसम्म गोप्य राखिएको छ।
एसएसपी मल्लले पनि खड्कासहितका केही व्यक्ति नियन्त्रणमा रहेको बताउँदै अहिले नै धेरै कुरा सार्वजनिक गर्न हतार हुने बताएका छन् ।भारतमा चोरी गरिएको सुन नेपाल भित्र्याई कारोबारी सञ्जालमार्फत बिक्री वितरण गर्ने गिरोह लामो समयदेखि सक्रिय रहेको पाइएको छ।यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान त गरिरहेको छ, तर दुई देशबीचको कानुनी सन्धी अभावका कारण सार्वजनिक मुद्दा चलाउन कठिनाइ भइरहेको प्रहरी बताउँछ ।
प्रहरीले सुन चोरीको घटनालाई राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय मानेर उच्च तहबाट अनुसन्धान अघि बढाएको जनाएको छ।यस प्रकरणमा संलग्न अन्य व्यक्ति र समूहबारे थप अनुसन्धान भइरहेकोले आगामी दिनमा अझै ठूला खुलासाहरू हुने अनुमान गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij