काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने बताएका छन् ।मन्त्रालयको कार्यक्रम सार्वजनिक गर्दै मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीति अन्तर्गत वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आईसीयु सेवा विस्तार गर्नेछ । वीरको आईसीयुमा ९ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ ।
यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दैछ । अस्पतालले जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ ।
नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।
मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पतालहरूलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए । जसअनुसार गत चैत्र १२ गते संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ ।मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयनका क्रममा रहेको जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij