Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’

‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’

निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० बनाउने विषयमा सहमति नजिक पुगेको देखियो । निजामती सेवा विधेयकमा उपसमिति बनाएर यसबारे सहमति जुटाउने प्रयास भइरहेको छ । नेपालीको औसत आयु ५४ वर्ष हुँदा निजामती वा अन्य सेवाहरूमा अवकाशको उमेर हद ६० वर्ष थियो । अहिले करिब ७२ वर्ष औसत आयु भएको अवस्थामा ५८ बाट कसरी ६० भन्ने विषयमा छलफल गरिरहेका छौँ । निजामती सेवामा संघीय सेवा संविधान अनुसार कार्य जिम्मेवारीका हिसाबले धेरै ठुलो छ । यसलाई डाउन र राइट राइजिङ गरेर संविधानको मर्म अनुकूल प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको विन्यास हुनुपर्छ ।

यति ठुलो सेवालाई एकै पटक उमेर हद ६० बनाउँदा उपयुक्त हुन्छ । सार्वजनिक सेवा भनेको रोजगार दिने ठुलो बजार होइन । निजामती सेवामा आउने संख्या एक वर्षमा धेरै ठुलो रहँदैन । विधेयकमा निजामती कर्मचारीको अवकाश ५८ बाट ६० वर्ष गर्दा राज्यलाई धेरै आर्थिक बचत हुन्छ ।

नेपालमा निजामती सेवामा करिब ४ हजार ३ सय कर्मचारीले एक वर्षमा अवकाश पाउँछन् । यस हिसाबले विभिन्न सुविधाबाट मात्रै २३ अर्ब रुपैयाँको बचत हुन्छ । त्यो छाता कानुन भएकाले निजामती सेवा ऐनको प्रभाव अन्य कानुनमा पनि पर्छ । सशस्त्र, नेपाल प्रहरी, नेपाली सेनाको अवकाश पनि त्यस्तै छ । सशस्त्र प्रहरीमा एक वर्षमा १ हजार ८ सय कर्मचारी अवकाश हुँदा वार्षिक २ अर्ब १३ करोड बचत हुन्छ । नेपाल प्रहरीमा ६ अर्ब ४८ करोड बचत हुने र नेपाली सेनामा ६ अर्ब ९५ करोड बचत हुने देखिन्छ ।

सबै हिसाब हेर्दा अवकाश हुँदा प्राप्त हुने पेन्सन र निवृत्तिभरण रकम दुई वर्ष पछाडि सर्छ । कर्मचारीले प्राप्त गर्ने अहिलेको पेन्सन भनेको अवकाशको अन्तिमको तलब बराबर हुने हुन्छ । उमेर हद ५८ बाट ६० बनाउँदा दुई वर्षमा ठुलो रकम बचत हुन्छ । त्यसमा सार्वजनिक संस्थान, सार्वजनिक निकायको कर्मचारी संख्या र निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीको संख्या उस्तै छ । त्यसले करिब ५० देखि ६० अर्ब रुपैयाँ एक वर्षमा बचत हुने देखिन्छ ।

पछिल्लो समय मुलुकमा आर्थिक शिथिलताको कुरा गर्छौँ । ५.१ प्रतिशतको आर्थिक वृद्धि आर्थिक शिथिलता हुन सक्दैन । तथापि राज्यले गर्ने क्यापिटल फर्मेसनमा लगानी कुल खर्चको १८ प्रतिशतमा झरेको छ । त्यो १८ प्रतिशतको पनि ६० प्रतिशतमात्रै पुँजीगत खर्च हुन्छ । त्यो भनेको कुल जीडीपीको ३.५ प्रतिशतको हाराहारी हो ।

हामीले क्यापिटल स्पेन्डिङ बढाएर रोजगारी, उत्पादन, उत्पादकत्व वृद्धि गर्नुपर्ने अवस्था छ । यसको सार्वजनिक वित्तमा चाप परिरहेको अवस्थामा उमेर हदलाई एकै पटक ६० वर्षमा लैजाने साहसिक नीति बनाउन अनुरोध छ । निजामती सेवा युवाहरूलाई रोजगारी दिने बजार होइन । निजामती सेवामा प्रस्तावित ६० वर्षे अवकाशको उमेर एकैपटक लागु गर्नुपर्छ । रोजगारी दिनुपर्छ भनेर खण्डित रूपमा यो व्यवस्था लागु गर्ने प्रस्ताव राख्नु हुँदैन । यो अर्थ मन्त्रालयको धारणा पनि हो, व्यक्तिगत होइन ।

अतिरिक्त सचिवको व्यवस्थाले भार

निजामती सेवा विधेयकमा अतिरिक्त सचिव राख्न आवश्यक छैन । नेपालको सन्दर्भमा असफल अभ्यास हो यो । यसले न्यायका तहहरू बढाउँछ । वार्षिक रूपमा खर्च पनि बढाउँछ । विगतमा ३० अतिरिक्त सचिव हुँदा धेरै खर्च देखिएको त छैन तर वार्षिक रूपमा ७ करोड रुपैयाँ खर्च बढ्ने देखिन्छ ।

समितिमा जति नै छलफल गरे पनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौँ । अहिले पनि सह–सचिव १२ वर्षमा मात्रै बढुवा हुन्छ । सह–सचिवको बढुवालाई समयवद्ध गराउने दृष्टिले अतिरिक्त सचिवको व्यवस्था आएको जस्तो लाग्छ । त्यसलाई व्यवस्थित गर्न सचिव र मुख्य सचिवहरूको एक–एक वर्ष अवधि घटाउने प्रस्तावले व्यवस्थापन हुन्छ ।

यो व्यवस्थाले संस्थाहरूमा लागत बढाउँछ । सचिवको पद घटाउन नसकिने र अतिरिक्त सचिव पनि सिर्जना हुँदा विगतका सहायक सचिव, उप–सचिव, सचिव र अतिरिक्त सचिवका अवस्थाबाट पाठ सिकेर अतिरिक्त सचिवको व्यवस्था नगर्दा राम्रो हुन्छ । समितिले यो विषयमा विचार गर्न जरुरी छ ।

कुलिङ पिरियड राख्नु हुँदैन

निजामती सेवाबाट अवकाश पाएपछि सरकारी निकाय वा संवैधानिक निकायमा नियुक्ति दिन कुलिङ पिरियड राख्ने विषय आएको छ । यो कर्मचारीमा कन्फ्लिक्ट इन्ट्रेस्ट हुने भएकाले आएको हुनुपर्छ । नेपाल सरकारले उपयुक्त नदेखिए नियुक्ति नगर्दा हुन्छ । संवैधानिक हिसाबले भएका कुराहरू संविधानतः हुने व्यवस्था छ ।

वैदेशिक निकायहरूमा पनि आफ्नै किसिमको कोड अफ कन्डक्ट हुन्छन् तर पछिल्लो समय दुई वर्ष सम्बन्धित मन्त्रालयमा काम गर्ने सह–सचिवलाई यो क्षेत्रमा काम गर्न रोक्दा हुन्छ । पछिल्लो समय गर्ने निर्णय र रोयल्टीका दृष्टिकोणले देखाउने परिश्रमको आधारमा असर हामीले पनि महसुस गरेका छौँ । तर पूर्ण रूपमा काम गर्न पाउँदैन र नगर्नु भन्ने हिसाबले लामो अनुभव प्राप्त गरेको निजामती कर्मचारीलाई राज्यले प्रयोग गर्न सक्नुपर्छ । राज्यले प्रयोग गर्न नचाहे नेपालको पेन्सन तलबको अवस्था लगायतका विषयले काम गर्न रोक्नु उपयुक्त होइन ।

अन्य मुलुकमा हेर्दा निजामती कर्मचारीबाट अवकाश पाएको मान्छे मन्त्री हुँदा राम्रो काम गरेको उदाहरण छन् । राज्यले कसरी प्रयोग गर्ने भन्ने सांसदहरूले निर्धारण गर्ने विषय हो ।

सचिव बढुवामा पोलिटिक्सलाई च्वाइस भएन । च्वाइस नहुँदा निजामती कर्मचारीमाथिको आक्रोश राजनीति र नागरिकको पनि छ । २० प्रतिशत ज्येष्ठताको आधारमा सचिव हुने व्यवस्था छ । अन्य ८० प्रतिशत सचिव बढुवामा हरेक सिटमा हरेक बैठक बस्दा एक सिटमा ३ जना सिफारिस भएपछि दोस्रो, तेस्रो सिफारिसमा अर्को एक जनामात्रै थपिने हिसाबले राजनीतिक र सरकारलाई च्वाइस नहुँदा निजामतीप्रतिको धारणामा फरक परेको छ ।

यसमा तीन महिना अथवा सकिँदैन भने एक महिनामा खाली हुने तीन सिटमा पनि एक पटक बैठक राख्ने व्यवस्था भयो भने ९ जना सिफारिस हुन्छ । २० प्रतिशत बढुवा ज्येष्ठताबाट भइहाल्छ ।

सचिव बढुवामा आरक्षण कोटा प्रणाली ठिक छ । माथिल्लो पद भनेको व्यवस्थापन गर्ने तह हो । सचिव सरुवामा क्लस्टर राख्नु हुँदैन । कार्यसम्पादनको दृष्टिकोणले हेर्दा वनको मान्छे वनलाई नै माया गर्ने हुन्छ । इन्जिनियरिङ, कृषिबाट आएकाले कृषिलाई प्राथमिकता दिन्छ । त्यसैले पछिल्लो समय क्लस्टरको आधारमा सरुवा गर्दा प्रभावकारी रूपमा काम भएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट