Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

ग्लोबल आइएमई बैंकको नाफामा उल्लेखनीय वृद्धि : ४.५३ अर्ब रुपैयाँ कमाई, ईपीएस १५.८६ रुपैयाँमा उक्लियो

ग्लोबल आइएमई बैंकको नाफामा उल्लेखनीय वृद्धि : ४.५३ अर्ब रुपैयाँ कमाई, ईपीएस १५.८६ रुपैयाँमा उक्लियो

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले चालु आवको पहिलो ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय वृद्धि भएको जनाएको हो। खुद ब्याज आम्दानीमा केही कमी आएको भए पनि इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा घटेका कारण बैंकको नाफा उल्लेख्यरूपमा बढेको हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर ३ अर्ब ११ करोड रुपैयाँमा झरेको छ। यसले मुनाफामा प्रत्यक्ष असर गरेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेको छ। तर सोही अवधिमा खुद फि तथा कमिशन आम्दानी भने १७.३० प्रतिशतले बढेको छ। यसबीचमा बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेको भए पनि सञ्चालन मुनाफा भने ३४.४१ प्रतिशतले बढेको देखिन्छ।

खुद नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत उल्लेखनीय रूपमा सुधार भएको छ। बैंकको वार्षिकीकृत ईपीएस चैत मसान्तसम्ममा १५ रुपैयाँ ८६ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ रुपैयाँ ६६ पैसाले वृद्धि हो। सोही अवधिमा वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य ईपीएस १२ रुपैयाँ ४ पैसा रहेको छ।

वित्तीय सूचकांकहरू हेर्दा बैंकको मूल्य-आम्दानी अनुपात (P/E Ratio) १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा पुगेको छ। बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट