Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन

२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन

‘२०८१ सालमा के गरियो ?’ अब ‘२०८२ सालमा के गर्न बाँकी रह्यो ?’ यी दुई प्रश्न स्वाभाविक रूपमा उठ्छन् । ‘के गरियो ?’ के गर्न बाँकी रह्यो ?’ मेरा लागि आफैँमा आत्ममन्थन र भविष्यप्रति प्रतिबद्धताको सूचक हुन् । आफैँलाई पछाडि फर्किएर हेर्ने र अगाडिको आगामी गन्तव्यको निर्धारण गर्ने सन्दर्भ पनि हुन् यी प्रश्नहरू ।

पानी पर्न नसकेर तुँवालोले वातावरण खराब भई कचपल्टिएको भातजस्तो मौसमले वातावरणलाई प्रदूषित पारिरहेको समय । ऐजेरु पलाएर हुर्किन नसकेका बिरुवाजस्तो । यस्तै ऐनमौकामा भित्रिएको नयाँ साल २०८२ को छेउछाउ एउटा आत्मदर्शन पनि हो ।डढेलो प्रकोपले जलेको जंगल, पानी पर्न हम्मे भइरहेको प्रकृति दिनदिनै मधौरा अवस्थाबाट गुज्रिँदै गर्दा वर्षको अन्तिम घडीमा म आफैँसित सोध्दै थिएँ, ‘२०८१ सालमा मैले के गरेँ ?’

बिहानको मिर्मिरेमा बिस्तारै उज्यालिँदै गरेको रातको धुवाँजस्तै बितेको वर्ष सम्झनाको कुहिरोमा हराउँदै गयो । कतै कागजका पानाहरूमा केही हरफ लेखिए । कतै मनको गहिराइमा केही अनुभवहरूको हुल बाँधियो । जीवनको डोबमा केही सम्झनाहरू गडेर बसे । अनि केही पानीसँगै बगेर गए । कतिपय अमर स्मृतिको अभिलेखमा सुरक्षित रहे ।

२०८१ साल नयाँ क्यालेन्डरको पाना होइन । त्यो मेरो हृदयको एक तह हो । त्यहाँ पीडा र प्रेरणाले समान स्थान पाए । कहीँ बिरानोले आँगन छाडेर गए । कहीँ कोही अन्जान आत्मा जीवनमा पग्लियो । कहीँ कविता बनेर आँखा रसाए । कहीँ निबन्धले जीवनको गहिराइ देखाए । कहीँ मौनताले हृदय सिञ्चित गर्‍यो । जे होस् यात्रामा पाइलाहरूले दुखेर पनि गन्तव्य छिचोलेरै छाडे । जीवन यात्रा न हो । यसले नै शब्दहरूमा यात्राको स्पन्दन गराउँछ ।

परन्तु समय कहिल्यै स्थिर रहँदैन । अहिले मलाई लागिरहेको छ, २०८२ सालले मेरो ढोका ढकढक्याइरहेको छ । म नयाँ साललाई स्वागत गर्दै अधुरा काम पूरा गर्ने जमर्कोमा जुर्मुराइसकेको छु । सोध्छु आफैँलाई, सम्झन्छु २०८१ सालका उपलब्धिहरू के के हुन् ? अब २०८२ सालमा मैले के गर्न बाँकी रह्यो ?

सबैभन्दा पहिले त मैले आफूलाई माफ गर्न बाँकी छ, जो गरिनुपथ्र्यो, तर गरिएन । केही सपना पुनः जिउन बाँकी छ, जुन २०८१ सालमा अलिकति थाकेँ । केही नयाँ बाटामा पाइला चाल्न बाँकी छ, जुन समयको व्यस्तताले टरे । केही साना मुस्कानहरू बाँड्न बाँकी छ । केही भित्री आँसुहरूलाई मनसँग साझेदारी गर्न बाँकी छ । बाँकी सबै यी सबै अधुरा कामहरूलाई यो वर्ष पूरा गरेरै छाड्नु छ ।

IMG_20250331_131230

२०८२ साल नयाँ दिनको सुरुआत र नयाँ सम्झौताको समय पनि हो । मैले गर्ने कामहरू भावना र समयका संवाद हुन् । ती मेरो उपलब्धिका सूची हुन् । तिनलाई क्रमशः म सिलसिलाबद्ध सम्पन्न गर्नेछु । यो सालमा मैले गर्न बाँकी कामहरूको सूचीले मलाई सधैँ जागरुक राख्नेछ । म आफ्नो कामप्रति सदा सचेत रहिरहनेछु ।

यसपालि सायद म शब्दभन्दा मौन बनुँला । मौनताभित्र चुपचाप आफ्नै सिर्जनामा रमाउँला । निबन्ध, नियात्रा लेखुँला । सायद यसपालि म फूल रोप्नुभन्दा अघि माटोको गोलमेल गर्नेछु । सायद म अरूलाई बुझ्नुभन्दा अघि आफूभित्रको अन्धकार चिन्नेछु । यति भएपछि मभित्र सिर्जनाको भण्डारमा अथाह विचारका भारीहरूले भरिनेछन् । ती भारीमा विगतको प्रतिविम्ब जोडिएका शब्दहरूमा यात्राको स्पन्दन हुनेछ ।

२०८२ साल मेरा लागि शब्दहरूमा यात्राको स्पन्दन हुनेछ । यहाँ म आफूलाई जीवन बाँचेर यात्रा गर्नेछु । दुखाइहरूलाई शब्दका मिठास भरेर व्यक्त गर्नेछु । यहाँ म आफू दुखेर पनि अलिकति नयाँपनको खुसी भेट्ने कोसिस गर्नेछु ।

यसपालि सायद म शब्दभन्दा मौन बनुँला । मौनताभित्र चुपचाप आफ्नै सिर्जनामा रमाउँला । निबन्ध, नियात्रा लेखुँला । सायद यसपालि म फूल रोप्नुभन्दा अघि माटोको गोलमेल गर्नेछु । सायद म अरूलाई बुझ्नुभन्दा अघि आफूभित्रको अन्धकार चिन्नेछु ।

बितेर गएका वर्षहरूझैँ २०८१ साल पनि समयको पात्रोमा एउटा पाना थियो तर मेरा लागि त्यो पाना सामान्य थिएन । त्यो पात्राका पानामा लेखिएका महिना र गतेका अक्षरहरू मेरा पाइला थिए । ती अक्षरहरूको लयमा मेरा मनका धड्कन थिए । शब्दहरूको मैत्रीपूर्ण मिलनमा भावनाको यौटा सुन्दर संरचना निर्माण भएको थियो । त्यो संरचना प्रकृति र जीवनको विम्ब थियो ।

धेरै ठाउँहरू घुमेँ, ती ठाउँहरूले मलाई घुमाए । मलाई देखाइदिए– हिमालको चुली र हिमालको आँगन साथै पहाड पछाडिका दृश्यहरू । देखाइदिए– एकलास अनकन्टारमा लुकेर बसेका प्राकृतिक सौन्दर्यका सारहरू । मान्छेका अनुहारभित्र लुकेका सौन्दर्य र वैराग्यका भावहरू । मैले तिनलाई शब्दहरूमा टिपिरहेँ, भावनाका रङहरूमा रङ्गाइरहेँ । तिनमा पसिनाको धारा बगिरहेको थियो । भोकको ज्वाला बलिरहेको थियो । परिश्रमको फल मिठो हुन्छ भन्ने आशाले भरियाहरू अत्यन्त मुस्किलले पाइला घिसाइरहेका थिए ।

उनीहरूले यात्रा जारी राखिरहेका थिए । त्यहाँ भाषाको आवश्यकता थिएन । जात र धर्मको नाम र कामको कुनै अर्थ थिएन । सबै एउटै उद्देश्यमा भेला भएका यात्री थिए । असल आत्मीय मित्र बनेका थिए ।

20250401_090520

२०८१ साल मेरा लागि सिर्जनाको चुली थियो, तर चुली पछाडि नयाँ आरोहण पर्खिरहेको हुन्छ । त्यही नयाँ चुली हो– २०८२ साल । बाँकी राखेका, थाँती रहेका कामहरू पूरा गर्ने संकल्प । साथसाथै समर्पण, साधना र तिनलाई पूरा गर्ने अधुरा सपनाहरूको वर्ष हुने छ २०८२ साल !

यो साल मेरो प्रतिबद्धता छ– लेखन र यात्रा बीच सन्तुलन कायम राख्ने । मेरा पाइला फेरि सहर र सडकबाट धुलाम्मे र ढुंगेबाटोतिर लम्किनेछन् । मेरो कलम फेरि लेखनमा घोटिनेछ । कहिले धुलो, कहिले पानी र कहिले पानी प्यासले काकाकुल हुँदै अभावका हाहाकारमा, कहिले खुसीका उत्सवहरूमा । कदापि म थाक्नेछैन । कहिल्यै म आफैँसँग हार खाएर वा हार मान्दै टोलाएर बसिरहनेछैन । जागरुक र ऊर्वर मनहरू लिएर मेरो यात्रा कायमै रहनेछ ।

म ती ठाउँहरूमा जान चाहन्छु, जहाँ मानिसहरू कथा बनेका छन् । जहाँ भित्ताहरू मौन कविता हुन् । जहाँ पाखाहरूले सिर्जनाको धुन सुसेल्छन् । जहाँका गाउँघरमा जीवनका स्पन्दनहरू आशा र विश्वासमा बाँचिरहेका हुन्छन् । जहाँ सुगन्धले पनि इतिहास बोकेको हुन्छ । बुढा गुराँसका बोटमा फुलेका राताम्मे लालीगुराँसको सौन्दर्यमा म लट्ठ हुनेछु । त्यो निर्जन जंगलमा कोइली, धोबिनी, चिबे चराहरूको मिठो गुञ्जनमा म प्रकृतिसँगै जीवनको लय घोलिएको महसुस गर्नेछु ।

२०८२ सालमा लेख्न बाँकी छ– आकाश चहार्ने, डाँडाकाँडा नाप्ने चराहरूको चित्कार, आँखाबाट देखिएका हिमाली सुन्दरता, पर–परसम्म फैलिएका लेकाली फाँट, चौरीगोठ र खुला आकाश, होटलका झ्यालबाट देखिएको साँझ, बुढो र जीर्ण काठको पुलको सम्झना, गाउँको चुल्होमा पाकिरहेको खानाको स्वाद, अप्ठेरो उकालोमा भारीले थिचिएर पनि त्यसबापत आउने ज्यालाको मोहले परिश्रमी रगत–पसिना बगाइरहेका नेपाली भरिया ज्यान !

1111

म यो साल लेख्न चाहन्छु— हावाजस्तो हल्का भएर, पानीजस्तो बग्न सक्ने भएर । फूलजस्तो सौन्दर्य र सुगन्धमय बनेर । मेरो लेखनले बगोस्, घुमोस् र अन्ततः जहाँ पुगोस्; त्यहाँ केही स्पर्श गरिरहोस् । नयाँपनको आभास दिइरहोस् । नवीन सोच र खोजको यात्रामा हिँडाइरहोस् ।

२०८२ साल मेरा लागि एउटा आत्मसंवादको वर्ष हो— जहाँ यात्राले लेखनलाई उचाइदिन्छ र लेखनले यात्रालाई गहिराइ । म खोजिरहेछु त्यो बिन्दु जहाँ म शब्दसँग भावना लेख्न सकुँ । म बनिरहेछु त्यो यात्री जो दिशाभन्दा अनुभूतिको पथमा हिँड्छ ।

अन्ततः वर्षहरू त बितिरहन्छन् । तर केही वर्षहरू जीवनका हस्ताक्षर बन्छन् । २०८२ साल त्यही हस्ताक्षर हो, जुन मैले लेख्न बाँकी राखेको थिएँ– अब लेख्दै छु । लेख्नेछु र लेखिरहनेछु ।

२०८२ सालमा मैले बाँकी राखेको काम हो, जीवनलाई पुनः प्रेम गर्नु । आफू खुसी हुँदै अरूलाई पनि खुसी साझा गर्नु । प्रगतिको धेरै अंकहरूका लागि मिहिनेत गर्नु । सम्मानका लागि होइन । यो अनुभूति गर्दै कि म जीवित छु । मलाई मेरो जीवन अझै प्रिय छ । म यो नयाँ साल आगमनसँगै शब्दहरूमा यात्राको स्पन्दन गरिरहनेछु ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट