काठमाडौँ : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौँ कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरुले सरकारकै मिलेमतोमा लुटको आतङ्क मच्चाएको बताए ।
प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गर्दै उनले भने, ‘तपाईँहरूले सुशासन खोजेको हो भने कारबाही किन नगरेको’ म्यानपावरले प्रतिव्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने कानुनी व्यवस्था छ । तर लाखौँ असुली भइरहेको छ । के यो कुरा दुई तिहाइ बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन ?’
अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार भएको बताउँदै उनले भने, ‘अहिले दुई तिहाइ बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु । वैदेशिक रोजगारमा ठगिएका युवाहरूले कहिले पैसा फिर्ता पाउँछन् ?’
जनताको समस्या,चाहना,आवश्यकता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुट धन्दामा लागेको टिप्पणी उनले गरे । स्वदेशमा रोजगार नपाएर युवाहरू ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए ।
भगौडा दलाल वर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धराशायी हुँदै गइरहेको बताउँदै उनले वर्तमान सरकारलाई श्रमजीवी वर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij