Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगरमा कान र दाँतको उपचारका लागि क्लिनिक सञ्चालनमा

रत्ननगरमा कान र दाँतको उपचारका लागि क्लिनिक सञ्चालनमा

चितवन: पूर्वी चितवनको रत्ननगरमा कान र दाँतको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । बच्चा र कान फाउन्डेसन नेदरल्यान्डको आर्थिक तथा प्राविधिक सहयोगमा विश्व परिदृष्य बकालत मञ्चले क्लिनिक सञ्चालनमा ल्याएको हो।

विद्यालय जाने उमेरका बालबालिकाको श्रवण र कानसम्बन्धी समस्याको पहिचान तथा उपचारका लागि सञ्चालित क्लिनिकको बुधबार रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरे। उद्घाटन समारोहमा मेयर सापकोटाले परियोजनाका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै क्लिनिकले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे। परियोजना अन्तर्गत आगामी पाँच वर्षसम्म रत्ननगरसहित चितवनका सात पालिकाका विद्यालयहरूमा स्वास्थ्य शिविर, कान र दाँतसम्बन्धी उपचार,जटिल शल्यक्रियाका लागि सरकारी अस्पतालसँग सहकार्य,विदेशी चिकित्सकद्वारा विशेष उपचार तथा क्लिनिक सञ्चालन गरिनेछ।

कक्षा १० सम्मका विद्यार्थी, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई निःशुल्क सेवा उपलब्ध गराइने र अन्य बिरामीका लागि न्यूनतम शुल्क लाग्ने विश्व परिदृष्य बकालत मञ्चका कार्यकारी निर्देशक नवराज अधिकारीले जानकारी दिए। स्थानीय सरकार, अन्तर्राष्ट्रिय सहयोग तथा समुदायको संयुक्त प्रयासमा सुरु गरिएको यो परियोजनाबाट श्रवण समस्याबाट पीडित बालबालिकाको जीवनस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा,नेपाल चेपाङ संघका महासचिव सन्त बहादुर चेपाङ,इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, बच्चा र कान फाउन्डेसन नेदरल्यान्डबाट डा.अनेटल टेर स्किपहोर्स्ट, अडियोलोजिस्ट सहायक पाउल भान वोएनसेल र प्रमुख प्राविधिक अधिकृत अल्बर्ट स्केलेकेन्सको उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी रघु भट्टले राखेका थिए भने सञ्चालन केपी किरण शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट