काठमाडौँ : कलैया उपमहानगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेको छ। बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीको संलग्नतामा भ्रष्टाचार भएको आरोप लागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा स्यानिटरी प्याडमा भ्रष्टाचार भएको देखिएपछि ती अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ का लागि स्यानिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९.१ कायम गरी ठेक्का गरिएको थियो। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ।
यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ। सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ। आरोपी सबैलाई बिगो असुली र बिगो बमोजिम जरिमाना माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij