काठमाडौँ : आइसिसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानले मङ्गलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।साथै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपीनप्रसाद शर्मा टोलीमा छन् । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन् ।
यस्तो छ खेल तालिका
माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । यस्तै, आगामी वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र युएई, वैशाख ५ गते हङकङ र ओमान भिड्ने छन् भने वैशाख ६ गते युएई र हङकङ प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र युएई भिड्ने छन् । आगामी वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते युएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच भिडन्त हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij