Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल सुपर लिग (एनएसएल) : चितवन र झापाले बराबरी खेले

नेपाल सुपर लिग (एनएसएल) : चितवन र झापाले बराबरी खेले

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा आइतबार चितवन एफसी र झापा फुटबल एफसीले १–१ गोल बराबरी खेलेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवनका टोरिक जेब्रिन र झापाका अल्हाजी गेरोले गोल गरे। खेलको २८ औँ मिनेटमा जेब्रिनले गोल गरेपछि चितवनलाई खेल सहज भएको थियो तर खेलकै इन्जुरी समयमा गेरोले पेनाल्टीमा बराबरी गोल गरेपछि चितवन स्तब्ध बन्यो।

शिशिर लेखीको पासमा जेब्रिनले नजिकबाट बल गोलपोस्टमा छिराएका थिए। सो गोलले चितवन लगातार तेस्रो जिततर्फ अग्रसर थियो तर इन्जुरी समयको पहिलो मिनेटमा नीरज चौधरीले आरन थापालाई डिबक्समा लडाएपछि रेफ्री कविन व्यञ्जनकारले पेनाल्टी दिए।

जसले झापाले खेलमा फर्किने अवसर पायो। सो अवसरलाई नाइजेरियाली खेलाडी गेरोले सदुपयोग गरे। जारी प्रतियोगितामा झापाको यो पहिलो गोल भएको छ।यसैगरी चितवनले पहिलो गोल बेहोरेको हो।

यसअघि खेलको पाँचौँ मिनेटमै चितवनका भिक्टर मानसारेले बक्सको ‘एज’ बाट गरेको प्रहार झापाका गोलरक्षक अन्जल श्रेष्ठले बचाए। तीन मिनेटपछि शिशिरले प्रहार गरेको बल गोलपोस्टमा लाग्दा चितवनले भाग्यको साथ पाएन। १० औँ मिनेटमा झापाका गेरोले बक्स भित्रबाट गरेको फ्री हेडर चितवनका गोलरक्षक अमाई नाइटले दर्शनीय ढङ्गले विफल पारे।

दोस्रो हाफमा चितवनले आक्रामक खेले पनि झापाका गोलरक्षक अन्जलका कारण गोल थप्न सकेन। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा झापाका विदेशी खेलाडी अर्सिक लाजारले फ्रिकिकमा प्रहार गरेको बलमा गोलपोस्ट बाधक बन्दा चितवनको तीन अङ्क पक्का देखिएको थियो तर सो घटनाको दुई मिनेटपछि गेरोले गरेको गोलले चितवन एक अङ्कमा सीमित भयो।

चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्कोमा बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो। झापाले लगातार तेस्रो खेल बराबरीमा खेलेको हो। झापाले पहिलो खेलमा बुटवलसँग र दोस्रो खेलमा काठमाडौँसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट