Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हलेसीमा रामनवमी मेला

हलेसीमा रामनवमी मेला

खोटाङ : खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ। हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ भएको हो।  रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन्। हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए।

काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो।

हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारजस्ता विभिन्न द्वार अवस्थित छन्। प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ। घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ। मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij