Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

“मानव सेवा नै माधव सेवा” मूल नाराका साथ भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

“मानव सेवा नै माधव सेवा” मूल नाराका साथ भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भरतपुर : “मानव सेवा नै माधव सेवा” भन्ने मूल नाराका साथ श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा साना नानीदेखि जेष्ठ नागरिकसम्म गरी करिब ११०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये करिब ८०० जना महिला र ३०० जना पुरुष थिए। सबैभन्दा बढी उमेरकी १०४ वर्षीया पवित्रा देवी गौतम समेत स्वास्थ्य उपचारका लागि शिविरमा उपस्थित भएकी थिइन्।

शिविरमा बालरोग, हाडजोर्नी रोग, मनोरोग, क्यान्सर, महिलासम्बन्धी रोग, मुखरोग, दन्तरोग, मुटुरोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो। साथै, १४० प्रकारका औषधिहरू निःशुल्क वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा ३२ जना विदेशी चिकित्सक, ४० जना मेडिकल स्टाफ तथा नेपालका १० जना चिकित्सक गरी कुल ८२ जनाको स्वास्थ्य टोली परिचालित थियो। नेपालका ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ डा. नारायण गौतम तथा वरिष्ठ चिकित्सक डा. एल.बी. सेढाईं शिविरका प्रमुख समन्वयकर्ता रहेका थिए।

शिविरमा आएका १५०० भन्दा बढी व्यक्तिहरूलाई निःशुल्क भोजन प्रदान गरिएको थियो। साथै, सरसफाइ, स्वास्थ्य, तथा खानेपानीसम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो।

बेलायत र अमेरिकाबाट चिकित्सकहरूको टोलीको सहभागिता रहेको शिविरको संयोजन बेलायतका डा. प्रताप ठक्करले गरेका थिए। उनी सत्य साई सेवा संगठन (UK) का अध्यक्ष समेत हुन्।

शिविरलाई सफल बनाउन जोन चेयरम्यान अमर बहादुर कार्की, सत्य साई केन्द्र नेपालका पदाधिकारीहरू, तथा विभिन्न स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सत्य साई सेवा संगठन यूकेका उच्च पदाधिकारीहरू तथा विभिन्न सामाजिक अभियन्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

सत्य साई सेवा संगठन : आध्यात्मिकता र सामाजिक सेवामा समर्पित

सत्य साई सेवा संगठन नेपाल आध्यात्मिक संस्था भए पनि, यसले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक सेवामा ग्रामीण भेगमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। नेपालमा हाल १०० भन्दा बढी सत्य साई केन्द्रहरू रहेका छन् भने, यो संगठन विश्वका करिब ११० देशहरूमा सामाजिक रूपान्तरणका कार्यहरूमा संलग्न छ।

नेपालका ग्रामीण क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य सेवा, स्वच्छ खानेपानीको प्रबन्ध, शिक्षाको पहुँच तथा समाज सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सत्य साई सेवा संगठनले आगामी दिनहरूमा पनि समाजसेवाका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट