Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अध्यक्ष प्रचण्ड बाँदरमुढे घटनाका घाइतेसँग वान टु वान !

अध्यक्ष प्रचण्ड बाँदरमुढे घटनाका घाइतेसँग वान टु वान !

चितवन : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा बेपत्ता आयोग बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बोलाइरहेको बताएका छन्। माओवादी पार्टीको हुलाकी मार्ग केन्द्रित मेची–महाकाली तराई–मधेस जागरण अभियानका क्रममा पार्टी अध्यक्ष दाहाललगायतको टोली चितवन, माडी आइपुगेको छ।

दाहालसँग कुराकानी गर्न शनिबार बिहान माडी, देवेन्द्रपुर आएका बाँदरमुढे घटनाका एक जना घाइतेसँग यो कुरा बताएका हुन्। सशस्त्र सङ्घर्षका बेला विसं २०६२ जेठमा माओवादीले थापेको विद्युतीय धरापमा यात्रु बस पर्दा माडी, बाँदरमुढेमा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो। सो घटनामा घाइते भएका माडीका कृष्णप्रसाद पोखरेलले दाहालसँग प्रश्न गरे, 'म घाइते भएँ, ढाडमा चोट थियो। मलेसिया दुई वर्ष बसेँ, तर दुखेर काम गर्न गाह्रो भयो। गाउँ फर्केँ र चिया पसल चलाएको छु। हाम्रो कुरा कहिले सुनुवाइ होला?'

उक्त प्रश्नको उत्तर दिँदै पूर्वप्रधानमन्त्री दाहालले युद्धका बेला भएका सबै घटनाको निर्णय सत्य निरूपण तथा बेपत्ता आयोगले नै गर्ने बताए। 'अब आयोग बन्दै छ। केपी ओलीले मलाई बोलाइ रहनुभएको छ। त्यही आयोग बनाउनु पर्‍यो भन्नलाई हो। अन्य कुरा पनि होलान्। अब आयोग बनेपछि ढोका सबै खुल्छ, बाधा केही हुँदैन। राहत, परिपूर्ति सबै कुराको नीतिगत ढोका खुलिसकेको छ,' दाहालले भने।

घाइते पोखरेलले 'यो विषय कहिले कार्यान्वयन होला?' भनेर सोध्दा दाहालको जवाफ थियो, 'डेढ वर्ष जति त लाग्ला। राजनीतिक दलसँग कुरा मिले छिट्टै पनि होला। एक वर्षभित्रमा टुङ्गिन्छ पनि जस्तो लाग्छ मलाई। तर सबै हेर्दा डेढ वर्ष त लाग्ला। यत्रो वर्ष त गयो, अब एक–डेढ वर्षमा टुङ्गिए त्यो पनि ठूलो कुरा हुन्छ नि।'

देवेन्द्रपुर नै घर भएका बाँदरमुढे घटनाका अर्का पीडित कृष्णप्रसाद अधिकारीले दाहालविरुद्ध नाराबाजी गरे। दाहालको टोली माडी, कृष्णनगरबाट'"मर्निङ वाक' गर्दै देवेन्द्रपुर आउँदै थियो। सोही क्रममा टोली अधिकारीको घर नजिक पुग्दा नाराबाजी भएको थियो। तर तत्कालै सुरक्षाकर्मी र माओवादी कार्यकर्ताले उनलाई घरतिर लगे।  'म र श्रीमती नाराबाजी गर्दै कालो झन्डा देखाउन खोज्दै थियौँ। तर उनीहरूले रोके,' अधिकारीले भने। उनी बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij