चितवन : पूर्वी चितवन रत्ननगर निवासी सम्झना तामगंलाई लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडी बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो ।
तर आज हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन । “वर्षौदेखि भूमिहिन सुकुम्बासीको रुपमा रहनुपर्दा पीडा थियो, तर आज लालपूर्जा पाउँदा खुसी लागेको छ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन,” उनले भनिन्। “नेता पनि सुन्दर, नाम सुन्दर र काम पनि सुन्दर गरिदिनुभयो । यत्रो रनपामा पहिलो वडा अध्यक्ष हो जसको अथक प्रयासले हामी रनपामा लालपूर्जा पाउने पहिलो भाग्यमानी वडावासी भयौँ । ”
रत्ननगर १२ का भूमिहिनलाई भूमिपनि बनाउन आफूले गरेका कार्यमा सरकारसहित सबै क्षेत्रले सहयोग गरेकोमा वडा अध्यक्ष सुन्दरमणि सुवेदीले सबैलाई धन्वयाद ज्ञापन व्यक्त गरे । लालपूर्जा पाउने अर्का कपिल दमईले पनि खुसी व्यक्त गरेका छन्। उनी भन्छन्, ुहामीलाई कुन समयमा कहिले उठाउँछ र कता पठाउँछ भन्ने डर हुन्थ्यो। लालपूर्जा नहुँदा यहाँबाट हटाउँछन् भन्थे तर अहिले लालपूर्जा पायौँ।ु वर्षौँदेखि बनीबुतो र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका उनीहरु लालपूर्जा पाएपछि हर्षित् छन्।
सोही ठाउँका सुकबहादुर कुमाललाई पनि आफू वर्षौदेखि बस्दै आएको जग्गाको लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । “यसअघि पनि भूमि आयोगले पटक–पटक काम गरेको थियो तर कहिल्यै लालपूर्जा पाएनौ,” उनले खुसी हुँदै भने, “यसपटक भने लालपूर्जा पायौ बल्ल सरकार आएको अनुभूति भयो ।”
स्थानीय मिना कुमार लामालाई लालपूर्जा पाउने सूचीमा नाम देख्दा सपना जस्तै लागेको थियो । उनले भनिन्, “लालपूर्जा पाउने निर्णय गरिएको सूचीमा नाम देख्दा हो की होइन होला भन्ने लागेको थियो, तर साँच्चिकै पाउँदा त झनै हर्षित छ ।” यसअगाडी कतिपयले पछि तिमीहरुलाई यहाँबाट उठाउँछ, किन बसेको भनेर भन्ने गरेको बताउँदै उनले अब त लालपूर्जा पाएपछि कसैले केही भन्न नसक्ने उल्लेख गरिन् ।
कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिवीनिवारण मन्त्री कलराम अधिकारीले रत्ननगर नगरपालिका वडा नम्बर १२ लामो समयसम्म बसोबास गर्दै आएका मध्य आज १ सय २३ भूमिहीन दलित तथा सुकुम्बासीले (धनीपूर्जा) लालपूर्जा प्रदान गरेका हुन् ।
लालपूर्जा वितरणपछि मन्त्री अधिकारीले संविधानको मौलिक हकअन्तर्गत रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताए ।
अधिकारीले भने, ‘संविधानमै लिपीवद्ध गरिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो।
सोही अनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेका हौँ।ु पूर्जा वितरण अघि बाजागाजा सहित स्वागत गरिएको थियो । कार्यक्रममा अतिथिका रुपमा केन्द्रीय भूमि आयोगका अध्यक्ष हरिप्रसाद केसी , जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, भूमि आयोग चितवनका अध्यक्ष इमानसिँह लामा, रत्ननगर नगरपालिकका प्रमुख प्रलाद सापकोटासहितको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij