भक्तपुर : सिद्धि स्मृति महिला तथा बाल अस्पतालको सुविधा सम्पन्न नयाँ भवन उद्घाटनसंगै सञ्चालनमा आएको छ ।शुक्रवार भव्य समारोहकाबीच भवन उद्घाटन गएको हो । जर्मन नागरिक म्यानफ्रेड लिन्डनरले भवनको उद्घाटन गर्नुभएको हो । उहाँसँगै जर्मनीका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।करिब १६ लाखको लागतमा विभिन्न सङ्घसंस्थाको सहयोग बनेको नयाँ भवनमा आइसियु र एन आइसियुसहितका सेवा सञ्चालनमा रहेको अस्पताल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले बताउनु भयो ।
महिला र बालबालिकाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै जर्मन नागरिकले नयाँ भवन निर्माणमा सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।सेवाका हिसाबले विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने योजनासहित सञ्चालनमा आएको र अब बिरामीले घण्टौँ कुरेर बस्ने पर्ने अवस्थाको अत्य हुने जनाइएको छ ।बिरामी अस्पताल आएको एक घण्टा भित्रै उपचार पाएर घर फर्किने वातावरणसहित अस्पताल अघि बढेको अस्पतालका अध्यक्ष श्याम धौभडेलले बताउनु भयो ।पाँच तल्ले नयाँ भवन निर्माणकलालागि रु १६ करोड बजेट अनुमान गरे पनि रु १० करोडमा सम्पन्न भएको अध्यक्ष धौभडेलको भनाइ छ ।विशिष्ट सेवासहित नयाँ भवनमा सञ्चालनमा आएपछि यो क्षेत्रकै उत्कृष्ट अस्पताल हुने छ भने मातृ शिशु मृत्युदर कम, स्वास्थ्य र शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ । यसबाट नगरपालिकालाई समेत टेवा पुग्ने विश्वास लिएको भक्तपुर नगरपालिका वडा नं। ७ का अध्यक्ष उकेश कवाँले बताउनु भयो ।
अस्पतालबाट पछिल्लो समय एक हजार ६ सय ९४ बालबालिकाले स्वास्थ्य सेवा लिएको तथ्याङ्क छ । गत असोज ११ र १२ गते हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएको यो अस्पताल केही समय बन्द रहेको थियो । अब भने जस्तोसुकै बाढी आए पनि कुनै असर नपर्ने गरी अस्पताल निर्माण गरिएको छ । जुनसुकै अवस्थामा पनि सहज सेवा दिने गरी अस्पतालले तयारी गरिएको अस्पतालले जनाएको छ ।सिद्धि स्मृति प्रतिष्ठानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रम पनि सञ्चालन गरिरहेको छ भने अस्पतालले बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। अस्पतालले एमडीमा छात्रवृत्ति दिँदै आएको छ । संस्थामा कार्यरत २५० जना कर्मचारीले विश्वसनीय सेवा दिएको भन्दै बिरामीलाई उच्चस्तरीय सेवा दिन नयाँ भवन बनाउन परेको अस्पतालले जनाएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरूको सहयोगमा प्रतिष्ठानले सञ्चालनमा ल्याएको नयाँ अस्पताल भवनबाट अप्रेसन सेवा पनि दिने भएको छ ।उद्घाटन कार्यक्रममा बाल स्वास्थ्य विभागका विभागीय प्रमुख ध्रुव श्रेष्ठ, प्रसूति तथा महिला स्वास्थ्य विभाग प्रमुख ज्योतिदेव भण्डारी, बाल शल्य चिकित्सक मनोज कृष्ण श्रेष्ठलगायतले उपचार क्षेत्रमा अस्पतालको प्रशंसा गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij