म्याग्दी : म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले तोरल्न पर्व अर्थात् यस वर्षको फागुपूर्णिमा मनाएका छन ।थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विविध कार्यक्रमको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासपूर्वक मनाएको हो ।
फागुपूर्णिमालाई थकाली भाषामा तोरल्न पर्व भनेर चिनिन्छ । हिन्दु धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्रद्धा गर्ने गर्दछन् ।त्यसैगरी थकाली समुदायले पनि फागुपूर्णिमा पर्वको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने चलन रहेको छ ।
म्याग्दीमा सदरमुकाम बेनीबजारसहित दाना, भूरुङ–तातोपानी, पश्चिमको दरबाङलगायत क्षेत्रमा गरी कुल १ सय १५ घरधुरी थकाली समुदायको बसोबास छ ।आदिवासी जनजातिभित्र पनि थोरै सङ्ख्यामा थकाली समुदाय रहेका छन् ।
यसैगरी, नेपालमा १९ क्षेत्र र विदेशको अस्ट्रेलिया, हङकङ र अमेरिकामा एकएक क्षेत्र रहको थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले जनाएको छ ।फागुपूर्णिमा पर्वको अवसर पारी थकाली समुदायमा अत्यन्त लोकप्रिय मानिने तारो हान्ने खेल (धनुषवाण) प्रतियोगिता, भेषभूषा प्रदर्शनी र नाचगानलगायत कार्यक्रमहरु आयोजना गरिएको छ ।
सबैसँग मिलेर बस्न सक्ने र मिठो–मिठो खानाका साथै विभिन्न परिकारहरु बनाउन सक्ने सिप, कौशल र विशेषता थकाली समुदायमा पाइन्छ ।देशभर २५ हजार जनसङ्ख्या रहेको थकाली समुदायलाई सरकारले अल्पसङ्ख्यक समुदायको सूचीमा राखेको छ ।
थकाली समुदायले तोरल्न पर्वको अवसरमा दिवङ्गत भएका पितृहरुको सम्झना गर्दै आफ्ना छोरीज्वाइँ, भान्जाभान्जी, आफन्तजनलाई बोलाएर मिठा परिकारहरु बनाएर खुवाउने र रमाइलो गरी पर्व मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो ।
तोरल्न पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कला, संस्कृतिको संरक्षणमा थकाली समुदायको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले थकाली समुदाय सङ्ख्यामा थोरै भए पनि थकाली खानाका परिकारहरु ब्राण्डिङ गरेको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij