Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘स्वच्छ पानी, स्वस्थ जीवन’ लक्ष्यसहित पथरीशनिश्चरे खानेपानी आयोजना सुरु

‘स्वच्छ पानी, स्वस्थ जीवन’ लक्ष्यसहित पथरीशनिश्चरे खानेपानी आयोजना सुरु

मोरङ : खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य दोहोर्‍याउँदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारा साकार पार्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहमा बोल्दै मन्त्री यादवले यो आयोजना केवल पूर्वाधार निर्माणको घोषणा मात्र नभई सरकारको प्रतिबद्धताको प्रतीक भएको बताए। ‘हामी ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै मुलुकभर स्वच्छ पानीको सहज पहुँच पुर्‍याउन लागिपरेका छौं,’ उनले भने।

मन्त्री यादवका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ। जलस्रोत संरक्षण, प्रविधियुक्त व्यवस्थापन, र दिगो खानेपानी सेवा विस्तारमा सरकार दृढ रहेको उनले बताए।

पथरीशनिश्चरे खानेपानी योजनाका लागि रु ३५ करोड बजेट सुनिश्चित

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठका अनुसार पथरीशनिश्चरे खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा रु ३५ करोड बराबरको बजेट सुनिश्चित भइसकेको छ, जसअनुसार तत्काल निर्माण कार्य अघि बढ्नेछ।

यस आयोजनाले हजारौं स्थानीय बासिन्दालाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी उपलब्ध गराउनेछ। साथै, स्थानीय रोजगारी सिर्जना गर्दै आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउने लक्ष्य रहेको बताइएको छ।

भविष्यका योजना : नवीन प्रविधि र समावेशी विकासमा ध्यान

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका प्रमुख सुरतलाल चौधरीका अनुसार खानेपानी सेवाको प्रभावकारिता बढाउन नवीनतम प्रविधिको प्रयोग गरिनेछ। ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी सेवा विस्तार गर्दै समावेशी विकासलाई प्राथमिकता दिने सरकारको योजना रहेको छ।

साथै, स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दिगो खानेपानी स्रोत संरक्षण र व्यवस्थापन गर्ने तथा वित्तीय स्रोत परिचालन गरी प्रभावकारी वितरण प्रणाली स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट