चनौली : तरकारीमा विषादीको प्रयोग मानव स्वास्थ्यका निम्ति घातक रहेको तालिमका सहभागीहरुले बताएका छन् । रासायनिक विषादीरहित तरकारीखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले चनौलीमा सोसम्बन्धी दुईदिने तालिमको समापन समारोहमा बोल्दै सहभागीले स्थानीय सरकारले विषादीको निगरानी, प्राङ्गारिक खेतीको दस्तावेजीकरण, चेतना, प्रविधिलगायतलाई जोड दिनुपर्ने बताए ।
साकम्बरी ताजा तरकारी कृषि सहकारी संस्थाको आयोजनामा चनौलीमा सम्पन्न तालिमको समापन समारोहमा बोल्दै रतनपुर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घलेले तोकिएको मापदण्ड पूरा गर्न नसक्दा त्यसले सर्वसाधारणको जीवनमा गम्भीर असर पार्ने र नेपालीलाई त्यसै पनि यस्ता विषादी मिसिएका आयातित तरकारीको मार परिरहेको बताए ।
कृषिमा विषादीको प्रयोग न्यूनीकरण गर्न राष्ट्रियस्तरबाटै पहल हुनुपर्ने भन्दै कीटनाशक विषादीको प्रयोग र जनस्वास्थ्यका मुद्दाहरुले राष्ट्रियरुपमा ध्यान नपाएको हुँदा ती मुद्दालाई प्राथमिकतामा राखिनुपर्ने उनले बताए ।
चाँडो फाइदा निकाल्ने भन्दै किसानले विषादी प्रयोग गरेको र व्यवस्थितरुपमा प्रयोग गर्न प्राविधिकले मार्गनिर्देशन गरेको पनि नपाइने भन्दै जिल्लामा अर्गानिक उत्पादन बढाउने चर्चा बेला–बेलामा चले पनि जैविक मल, विषादीको प्रयोग घट्दै गएको गुञ्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरूङले बताए । भारतीय बजारबाट आएको उत्पादनसँग प्रतिस्पर्धा गर्न तथा चाँडो नतिजा निकाल्न विषादीको प्रयोग बढेको उनले बताए ।
उत्पादित उपजलाई लामो समय टिकाउने प्रकृतिका विषादी पनि देखिने गरेको भन्दै नेपाल रेडक्रस चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आमजनमानस उपभोक्ता, विषादी बिक्रेता सबैमा व्यापक जनचेतना वृद्धि गर्नु आजको आवश्यकता भएको बताए । रोगकिरा नियन्त्रणका लागि अन्तिम अस्त्रको रुपमा रासायनिक विषादीको प्रयोग गर्नु कृषकको बाध्यता रहेको भन्दै चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले दीर्घकालीनरुपमा विषादीको विकल्प खोज्नुपर्ने बताए ।
जैविक विषादीको प्रयोग गरी उत्पादन गरिएको कृषिउपज प्राङ्गारिक हुने र प्राङ्गारिक कृषि उत्पादनबाट नै दिगो कृषि क्रान्तिको लक्ष्य हासिल गर्न सकिने संस्थाका पूर्वअध्यक्ष मेघनाथ पोखरेलले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij