Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

क्यान्सरपीडित पत्रकार संगीताले मागिन् अस्पतालबाटै सहयोग

क्यान्सरपीडित पत्रकार संगीताले मागिन् अस्पतालबाटै सहयोग

शिवनगर : लामो समयदेखि पश्चिम चितवनको शिवशक्ति रेडियोमा कार्यरत संगीता बानियाँ क्यान्सर रोगबाट पीडित भई चितवन मेडिकल कलेजको क्यान्सर वार्डमा उपचार गराइरहेकी छन् । दुई वर्षअघिदेखि क्यान्सर रोगपीडित बानियांँलाई सुरूवातमा स्तन क्यान्सर देखिएको थियो । उक्त क्यान्सर पूर्णरुपमा निको भए पनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो ।

उनले आफ्नो उपचारको क्रममा चल–अचल सम्पत्ति बेचबिखन गरिएको र ऋण काढेर उपचार गर्दागर्दै पनि थप उपचारका निम्ति रकमको अभावका कारण आफ्नो जीवन बचाएर नाबालिका छोरीलाई टुहुरी हुनबाट जोगाइदिन सबैमा हारगुहार लगाइरहेकी छन् ।

हाल वैदेशिक रोजगारका क्रममा रहेका आफ्ना श्रीमान् र एक नाबालिका छोरीसँगै सामान्य जीवनयापन गरिरहेको उनको परिवारसँग थप उपचार गर्न रकमको अभाव रहेको उनले बताइन् । भरतपुर–१६ मा माइती र भरतपुर–१४ मा घर भएकी बानियाँको पारिवारिक र माइतीको आर्थिकस्तर सामान्य रहेको छ । उनको उपचारमा यसअघि ४० लाख रूपैयाँ खर्च भइसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख लाग्ने चिकित्सकले भनेको उनले बताइन् ।

पत्रकार बानियांँको उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि सामाजिक अभियन्ता विदुर केसीको नेतृत्वमा आठ सदस्यीय अभियान समिति गठन भइसकेको छ । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा ‘क्यान्सरपीडित पत्रकार संगीता बानियाँ सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक सङ्कलनलाई तीव्र पारिएको छ । जसमा पत्रकार सिन्धु ढकाल र अनिल भट्टराई, परिवारका तर्फबाट ससुरा बुबा मोहनबहादुर सिलवाल, भाउजू बिना बानियाँसँगै सामाजिक व्यक्तित्वहरु किशोर गुरूङ, सुवास सिलवाल र दीपेन्द्र बास्तोला सदस्य रहेका छन् ।

अभियानले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको केही दिनमै धेरै महानुभावहरुले आर्थिक सहयोग प्रदान गरिरहेको संयोजक विदुर केसीले जानकारी दिए । पहिलो चरणमा अभियानले सहयोगीहरुको नाम र रकम सार्वजनिक गरेको उनले बताए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले क्यान्सरपीडित बानियाँलाई ७५ हजार सहयोग गरेको छ । भरतपुर–६, गीतानगरकी लक्ष्मी खड्काबाट ५० हजार, भरतपुर–१६ की शोभा पुडासैनीबाट १५ हजार, मेघ गुरूङबाट १५ हजार सहयोग प्राप्त भएको छ भने समाजसेवी नन्दप्रसाद भट्टले १२ हजार १५० रूपैयाँ सहयोग गरेका छन् । सन्तोष देउजा (कपुरबोट मिडिया)बाट १० हजार, धनु थापा भरतपुर–१४ बाट १० हजार, सरस्वती अधिकारी काठमाडौँबाट १० हजार सहयोग प्राप्त भएको छ । यस्तै, तारा बानियाँ भरतपुर–१६ बाट १० हजार, सरु बानियाँ भरतपुर–१६ बाट १० हजार तथा तारा सिलवाल बानियाँ भरतपुर–१६ बाट ७ हजारलगायतको सहयोग प्राप्त भएको र सहयोग उठ्ने क्रम जारी रहेको संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट