Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ घोषणा

महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ घोषणा

काठमाडौँ : महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो ।

भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भूपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भूपाल कठेत, टिकाराम भण्डारी, विनोद भट्टराई, मधुसूदन भटराई, जगन्नाथ अधिकारी, जीवनाथ सुवेदी, नीलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल होड ब कठेत, बिध्याराज न्यौपाने लगायतले स्क्रिप्ट तथा पोस्टर पूजा गरेका थिए, भने काठमाडाैँको पशुपतिमा फिल्मका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशङ्कर रिजाल, लय सङ्ग्रौला लगायतले मन्दिरमा स्क्रिप्ट तथा पोस्टर पूजा गर्दै फिल्म घोषणा गरेका हुन् । ‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उनी जुद्ध शमशेर राणाको समय समाजका विभेद, कुरुती, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्म राज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने साहसी महिला हुन् । ध्यान र योग मार्फत उनका हजारौँ अनुयायी थिए ।

जुद्ध शमशेर राणासँग आँखामा आँखा जुधाएर पटक पटक आन्दोलन गरेर आफ्नो माग राखेकी उनलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको विरुद्धमा उनले ६७ जना अनुयायी सहित अरुण नदीमा जल समाधि लिएकी थिइन् । उनले छेडेको आन्दोलन उत्सर्गमा पुगेर ९ वर्षपछि राणा शासनको अन्त्य भएको थियो ।

योगमायाको सङ्घर्ष र बलिदानको कथा फिल्मले भन्ने निर्माता /निर्देशक रिमेश अधिकारी बताउँछन् ।फिल्मका लागि विगत एक वर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार ब्याक्तिहरुसँगको छलफलमा फिल्मको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गरेका हुन् ।

फिल्मका लागि डा. आस बा. तामाङ र पूर्व मन्त्री शंकर कोइरालाको शब्दमा २ गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले सङ्गीत दिएका छन् ।रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगाएको समूहले निर्माण गर्न लागेको हो ।

फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् ।फिल्मको पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रीय अध्यक्ष बलाराम न्यौपाने लगायतको उपस्थिति थियो ।

फिल्ममा बेनिशा हमाल, लय सङ्ग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डिसी, शिवशङ्कर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठ लगायत फाइनल भएका छन् । फिल्ममा अझै लिजेन्ट र थियटर कलाकार छनौटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । फिल्मको छायाङ्कन नयाँ वर्ष २०८२ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट