झापा : नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी लाभान्वित भएका छन् ।झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिनुभयो ।
सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन् । “बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । एक जनाको एकपटक डायलायसिस गरेबापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँछ । यसबाट विपन्न नागरिकहरू निकै लाभान्वित भइरहेका छन्”, दाहालले भन्नुभयो ।
दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने हुन्छ । झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो र सबैभन्दा बढी क्षमताको अस्पताल हो । हाल सेवा दिने अरु पाँचवटा स्वास्थ्य संस्था थपिएका छन् ।
ओमसाई पाथिभरा अस्पतालमा हेमोडायलायसिसका लागि २१ वटा मेसिन सञ्चालनमा छन् । एक जना बिरामीलाई सेवा दिन चार घण्टाको समय लाग्ने र दैनिक तीन सिफ्टमा औसत ६० जनाले सेवा पाइरहेको दाहालले बताउनुभयो ।
अस्पतालबाट हाल एक सय ६७ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन् । सरकारको स्वास्थ्य बिमामा आबद्ध नरहेका बिरामीले समेत पालिकाको सिफारिसमा सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।
मिर्गौलाका बिरामीको उपचारमा सरकारले निःशुल्क डायलायसिस सेवा दिएर नागरिकको प्राण बचाइरहेको भद्रपुर नगरपालिका–७ लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले बताउनुभयो ।
उहाँले विगत १० वर्षदेखि नियमित रूपमा हेमोडायलायसिस सेवा लिइरहेको बताउनुभयो । “हप्ताको तीनपटक डायलायसिस गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “अस्पताल र सरकारले दिएको निःशुल्क सेवा सुविधाप्रति आभारी छु ।”
मेचीनगर–७ की सीता निरौलाले आफ्ना पति विष्णुप्रसाद निरौलाको डायलायसिस गराउन साताको दुईपटक अस्पताल धाउनुपरेको बताउनुभयो । सरकारले डायलायसिस निःशुल्क गरिदिएता पनि घरबाट अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नदिएकामा केही समस्या भने रहेको उहाँले बताउनुभयो ।“माथिको सरकारले डायलायसिस निःशुल्क गरिदियो, स्थानीय सरकार (पालिका) ले एम्बुलेन्स सुविधा निःशुल्क गरिदिए बिरामीलाई सहज हुन्थ्यो”, उहाँले भन्नुभयो ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो डायलायसिस उपचार थलोका रूपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन् । फिस्टुला राख्ने सुविधासमेत स्वास्थ्य बिमामार्फत दिने हुँदा उक्त अस्पतालमा मिर्गौला डायलायसिस गराउन आउने बिरामीको सङ्ख्या बढिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij