भरतपुर : पाठेघरको मुखको क्यान्सरविरूद्ध चितवनमा २६ हजार ३२६ किशोरीहरुलाई एचपिभी खोप दिइएको छ । जिल्लामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म चलेको एचपिभी खोप अभियानअन्तर्गत लक्षितसमूहका ३१ हजार ५७० किशोरीमध्ये ८३ प्रतिशत किशोरीले खोप लगाएका हुन् । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने छात्रा र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लक्षितसमूहमा राखिएको छ ।
अभियानमा खोप लगाउन छुटेका लक्षितसमूहका किशोरीहरुलाई फागुन ६ गते खोप लगाइने जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । केसीका अनुसार भरतपुर महानगरमा १२ हजार ७१०, रत्ननगरमा तीन हजार ४३७, खैरहनीमा दुई हजार ७३४, राप्तीमा दुई हजार ९३४, कालिकामा दुई हजार २२७, माडीमा एक हजार ४३ र इच्छाकामनामा एक हजार २४१ किशोरीले खोप लगाएका छन् ।
‘भरतपुर महानगरपालिकाको मातृशिशु क्लिनिकमा नियमितरुपमा खोप लगाउने काम भइरहेको छ । खोप अभियानमा विविध कारणले खोप लगाउन छुटेकालाई फागुन ६ गते सातवटै पालिकामा खोप लगाउने निर्णय भएको छ’, केसीले भने । फागुन ६ गतेपछि खोप कभरेज अझै बढ्ने विश्वास लिइएको छ । जिल्लामा खोप अभियान सञ्चालनका लागि ४३३ वटा खोप केन्द्र, ४५५ जना स्वास्थ्यकर्मी र ९१० जना स्वयंसेवक परिचालन गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपिभी (ह्युमन प्यापिल्लोमा भाइरस) नामक भाइरसविरूद्ध दिने खोप हो । एचपिभी भाइरस २०० भन्दा बढी प्रजातिका हुने उनी बताउँछन् । मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरु १२ प्रकारका हुन्छन्, ती हुन् : १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१, ५२, ५६, ५८ र ५९ । यीमध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिबाट हुने अध्ययनले देखाएको छ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको पटेलले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना अर्थात् औसत दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको देखिन्छ ।
‘एचपिभी खोप किशोरीलाई एक मात्रा दिइने छ । एक मात्रामा ०.५ मिली हुन्छ । यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागको मासुभित्र दिइन्छ’, पटेलले भने । अभियानसँगै नियमित खोप सेवामा सिकोलिन एचपिभी खोप प्रयोग गरिन्छ । यो खोपले प्रजाति १६ र १८ का कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरण प्रभावकारी हुने अध्ययनले देखाएको उनले बताए ।
यो खोप विशेषगरी नौदेखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई दिइन्छ । यो खोप एक मात्रा लगाएपछि यसको पूर्ण मात्रा हुन्छ । विगतमा एक मात्रा एचपिभी खोप लगाएका किशोरीले अर्काे मात्रा लगाउन जरूरी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij