Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द

सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द

धनगढी : सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द भएको छ।सेती प्रादेशिक अस्पतालमा रहेको स्वास्थ्य कार्यालय, कैलालीको प्रयोगशालामा क्षयरोग (टिबी) परीक्षणका लागि आवश्यक सामाग्रीको अभाव भएको हो।

स्वास्थ्य कार्यालय, कैलालीले कार्टेसको आपूर्ति गर्न नसकिएकाले तीन दिनदेखि क्षयरोग परीक्षण रोकिएको बताएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढीबाट क्षयरोग परीक्षणका लागि कार्टेसको आपूर्ति हुँदै आएको थियो। तर, केन्द्रबाट आपूर्ति नभएको भन्दै प्रयोगशालाले स्वास्थ्य कार्यालयलाई कार्टेस नदिएपछि परीक्षण रोकिएको हो। स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख रमेश कुँवरले लक्ष्मीनारायण अस्पतालमा क्षयरोगको परीक्षण हुँदै आएको बताए। सेती प्रादेशिक अस्पतालमा रहेको स्वास्थ्य कार्यालय, कैलालीको प्रयोगशालामा कार्टेस नभएकाले परीक्षण बन्द भएको उनले बताएका छन्।

सेती प्रादेशिक अस्पतालमा छुट्‍टै प्रयोगशाला सञ्चालन गरेर स्वास्थ्य कार्यालय, कैलालीले औलो र क्षयरोगको परीक्षण गर्दै आएको छ। तर, क्षयरोग परीक्षणा सामानको आपूर्ति नभएकाले वृद्ध/वृद्धाहरू परीक्षण बिना फर्किदै आएका छन्। उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य कार्यालय, कैलालीको प्रयोगशाला छ। औलो र क्षयरोगका बिरामीलाई परीक्षण सेवा दिने हो। अहिले कार्टेस सकिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट आउने हो। प्रयोगशालामा पनि केन्द्रबाट आएको छैन। अहिले हामीले लक्ष्मीनारायण अस्पताललाई आग्रह गरेका छौ। आइतवारदेखि फेरि सुरु हुन्छ।’

सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाबाट वार्षिक चार हजार बढीले क्षयरोगको परीक्षण गर्दै आएका छन। आर्थिक वर्ष २०७९/८० मा चार हजार आठ सय ८६, २०८०/८१ मा चार हजार चार सय ७५ र चालु आर्थिक वर्षको माघ महिनासम्म दुई हजार ९ सय २४ जनाले क्षयरोगको परीक्षण गराएका तथ्याङ्क स्वास्थ्य कार्यालय, कैलालीको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij