काठमाडौँ : निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने, ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij