नयाँबजार : भरतपुर–२०, नयाँबजारमा १० वर्षअघि निर्माण सुरू गरिएको चित्रवन फुटबल रङ्गशाला आर्थिक अभावमा अधुरै रहेको छ । राष्ट्रिय योजना आयोगको योजनामा समेत समावेश भएको सो रङ्गशालाको पर्खालसमेत पूर्णरुपमा बनेको छैन ।
२०७१ सालमा साबिक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७४÷७५ मा १० बिघा क्षेत्रफल जग्गा प्राप्त गरेपछि पहिलोपटक जिल्ला खेलकुद विकास समितिबाट प्राप्त १५ लाखले मैदान व्यवस्थापन र प्यारापिट निर्माण थालिएको थियो ।
खेल मैदानमा हालसम्म करिब १२०० मिटरमात्रै पक्की पर्खाल निर्माण सम्पन्न भएको छ । पहिले लगाएको पर्खाल जीर्ण बन्दै गइरहेको छ । रङ्गशालाको गेट नहुँदा मैदानमा चौपायाहरु चरिरहेका भेटिन्छन् भने मैदानको तल्लो भाग भर्ने काम नहुँदा स्थानीयले खेती गरिरहेको देख्न सकिन्छ ।
एक अर्ब ५३ करोड रूपैयाँ लागतमा १७ हजार दर्शक क्षमताको रङ्गशाला निर्माण गर्ने गरी डिपिआर तयार गरेर निर्माणको प्रक्रिया सुरू गरे पनि अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन । फुटबल मैदानका अतिरिक्त ट्रयाक एन्ड फिल्ड र अन्य खेल पूर्वाधारसमेत समेटिएका थिए । तर, अहिले चासो कम हुँदै गएपछि रङ्गशाला निर्माणले गति लिन सकेको छैन ।
आव २०७८/७९ मा बागमती प्रदेश सरकारबाट ३० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो र हाल बागमती प्रदेशसभा सदस्य माया श्रेष्ठको पहलमा थप १० लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत ५० करोड बजेट दिलाउने र तत्कालका लागि ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा घोषणा गरिएको चितवन प्याकेजअन्तर्गत ५० लाख रकम यो रङ्गशाला निर्माणमा विनियोजन हुँदा १९ लाख ३० हजारमात्रैं खर्च भएर अरु रकम फ्रिज भएको थियो ।
खेलकुदको माध्यमबाट चितवनलाई चिनाउने उद्देश्य राखेर रङ्गशाला निर्माण अघि बढेपछि विदेशमा हुने नेपालीहरुले समेत लाखौँ रूपैयाँ सहयोग पठाएका थिए । रङ्गशाला निर्माण अभियानको क्रममा चितवन अन्तर्राष्ट्रिय समन्वय समिति गैरआवासीय नेपाली संघबाट चार लाख ७२ हजार र चितवन सेवा समाज जापानबाट २ लाख रूपैयाँ प्राप्त गरी पर्खाल निर्माण कार्य थालनी भएको थियो ।
आव २०७५/७६ मा निर्माण कार्यको प्रारम्भिक चरणमा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख र आव २०७६/७७ मा चितवन विकास प्याकेजअन्तर्गत ५० लाख रूपैयाँ विनियोजन भई पक्की पर्खालको केही संरचना निर्माण भएको हो । भौतिक पूर्वाधार निर्माणका लागि आव ०७६/०७७ मा एक करोड बजेट विनियोजन भएको थियो । हालसम्म भरतपुर महानगरको डेढ करोड र राष्ट्रिय खेलकुद परिषद्को डेढ करोड रूपैयाँ र आव २०७७/७८ को भरतपुर महानगरपालिकाको थप बजेट २० लाखबाट करिब १२०० मिटर पक्की पर्खाल निर्माण कार्य सम्पन्न भएको हो ।
रङ्गशालामा एकैपटक १७ हजार दर्शक अटाउने क्षमता छ । फुटबल मैदानका अतिरिक्त ट्रयाक एन्ड फिल्ड र अन्य खेल पूर्वाधारसमेत समेटिएका थिए । तर, अहिले चासो कम हुँदै गएपछि रङ्गशाला निर्माणले गति लिन सकेको छैन । रङ्गशाला निर्माणको कार्य जारी भए पनि सरकारको चासो कम देखिएको वडाध्यक्ष मुक्तिप्रसाद घले बताउँछन् ।
सुरूमा केही बजेट आएपछि कम्पाउन्डको काम भए पनि पर्याप्त बजेट नहुँदा त्यो पनि पूरा हुन नसकेको उनले बताए । ‘मुख्य मैदानमा माटो फिलिङ गर्न बजेट नहुँदा मैदान खेल्नयोग्य छैन’, उनले भने, ‘उत्तरपट्टिको भागमा सम्याएर सामान्य खेल्नयोग्य बनाइएको तर दक्षिणतर्फको मुख्य मैदानको काम बजेट अभावमा अझै सुरू गर्न सकिएको छैन ।’ पर्याप्त बजेटको अभाव र राजनीतिक दलको परिवर्तित मानसिकताका कारण चित्रवन रङ्गशाला अलपत्र रहेको उनको बुझाइ छ । बागमती प्रदेश सरकारबाट थोरै बजेट खेल मैदानका लागि विनियोजन भए पनि संघीय सरकारको तर्फबाट बजेट नपाएको उनको गुनासो छ ।
काठमाडौँको दशरथ रङ्गशालापछिको वैकल्पिकरुपमा हेरिएको यो रङ्गशाला फुटबल पारखीहरुका लागि मह¤वपूर्ण हुने अपेक्षा गरिएको थियो । तर, रङ्गशालाको निर्माण कछुवाको गतिमा जाँदै गर्दा केन्द्रीय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा चितवनको खेल जगत्मा निराशा छाएको वडाध्यक्ष घले बताउँछन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको चित्रवन रङ्गशाला निर्माण परिसरमा क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा हेरेको थियो, तर कृषि विश्वविद्यालयमा रङ्गशाला बनाउने निर्णय गरियो, जुन चित्रवनभन्दा करिब पाँच किलोमिटरको दूरीमा मात्रै छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij