Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

मस्तिष्क पक्षाघात छोराको उपचारार्थ सहयोगको अपिल

मस्तिष्क पक्षाघात छोराको उपचारार्थ सहयोगको अपिल

विजयनगर : भरतपुर–१६, सृजनशील टोल निवासी सुजन पराजुलीले मस्तिष्क पक्षाघातको समस्याबाट ग्रसित आफ्ना छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । सामान्य मिस्त्रीको काम गरेर परिवार पालेका सुजनले निरन्तर उपचारमा लाग्नुपर्ने भएकाले आफ्नो छोराको औषधि उपचारका लागि सहयोगको अपेक्षा राखेका हुन् ।जन्मजात मस्तिष्क पक्षाघातको सिकार भई अचेत अवस्थामा ओछ्यानमा लडिरहने छोराको उपचारमा सहयोग, सरसापट र ऋणबाट ठूलो रकम खर्च भइसकेको उनले बताए ।

उमेरले १२ टेकेका सिद्धार्थ भोक लाग्यो, दिसापिसाब आयो वा टाउको दुख्यो पनि भन्दैनन् । लमतन्न भुइँमा दिनभरि लडिरहन्छन् । शरीर आफैँ अड्याउन, हातगोडा सजिलै चलाउन नसक्ने, उभ्याइदिए उनलाई कतै अडेस लाग्नैपर्ने हुँदा खाना खुवाउनेलगायत उनका नित्यकर्म अभिभावककै भरमा छ । ‘हामी गाउँलेको घरमा पहिलो सन्तान छोरो जन्मँदा खुसीको सीमै थिएन’, बुबा सुजनले भने’, ‘तर बच्चा रोएन, एक हप्तासम्म आमाको दूध पनि चुसेन ।’

त्यसपछि लगातार उपचारका लागि भौँतारिएका उनको दौडाहा एक दशकभन्दा बढी चल्यो । बोल्दाबोल्दै उनका आँखा रसाए, ’हामी आमाबाउको सास रहुन्जेल होला, पछि यसलाई कसले हेर्छ भन्ने चिन्ता लाग्छ ।’ अपाङ्गतामा यस्तो सबैभन्दा जटिल अवस्था हो, परिवारले हेरेन भने त्यस्ता बच्चा बाँच्न कठिन हुन्छ ।

६ जना सदस्य भएको उनको परिवारको मुख्य आम्दानीको स्रोत भनेकै एक जनाको कमाइमात्रै हो । ‘वर्षभरिको कमाइले खान लाउन नै धौधौ हुन्छ, सम्पत्तिको नाममा करिब १२ धुर जग्गामा रहेको सामान्य घरमात्रै छ’, उनकी पत्नी सीता पराजुली भन्छिन्, ‘त्यसमाथि जेठो छोरा यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौँ ।’ उनका २ छोरा र २ छोरी छन् । जेठो सिद्धार्थ पराजुली जन्मजात पक्षाघातबाट पीडित छन् भने अरु साना–साना छन् ।

मस्तिष्क पक्षाघातबाट पीडितलाई फिजियोथेरापीमार्फत उपचार गराइन्छ भन्ने सुने पनि त्यहाँसम्म पु¥याउन नसक्ने अवस्था रहेको बताउँदै सुजनले उपचार त के बच्चाहरुलाई पेटभरि खुवाउन पनि नसक्ने अवस्था रहेको बताए । उनी भन्छन्, ‘सहयोग गर्ने दयालु मान्छे भेटिएर उपचार सम्भव भए मेरो छोरा पनि अरुजस्तै स्कुल जान सक्थ्यो ।’ कमजोर आर्थिक अवस्था रहेका सुजनले कसैले छोराको उद्धार गरिदिए आफूलाई केही भए पनि सन्तुष्टि मिल्ने भावुक हुँदै बताए ।

अन्तरजातीय विवाह गरेका उनले अपाङ्गता भएका र गरिब बच्चाले सुविधा पाउनुपर्ने भए पनि सरकारी निकायले बेवास्ता गरेको गुनासो गरे । घरमा शौचालयको अभाव रहेको बताउँदै बोराले बारेर काम चलाउ बनाएको उनले बताए ।

‘छोरालाई पढाउने अत्यन्तै धोको थियो तर अस्वस्थ रहेका कारण पढाउन सकिएन’, सुजन पराजुलीले भने, ‘उपचारका लागि धामी–झाँक्रीदेखि अस्पतालसम्म चहार्नुपर्नेजति सबै ठाउँ चहारिसके पनि अवस्थामा सुधार आउन सकेन । छोराको उपचारमा ऋणको भार बढ्यो । काठमाडौँको कान्ति बाल अस्पताल, वीर अस्पताल, भरतपुरको सिएमसी र हेटौँडामा पनि लगेर उपचार गराएँ तर निको भएन ।’

राष्ट्रिय बहिरा महासंघद्वारा सञ्चालित समावेशी शिक्षा दिने शिक्षक लक्ष्मीकान्त घिमिरेले समाजमा भित्र लुकेर रहेका र कष्टपूर्ण जीवनयापन गरिरहेका बालबालिकालाई खोजेर सम्मानजनकरुपमा बाँच्ने अधिकारलाई सुरक्षित गर्न संस्था लागेको बताए । मस्तिष्क पक्षाघातका लागि अभिभावक स्वावलम्बन समूह भरतपुर–२६ का अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘बुझेका आमाबाउले नानीहरुको अवस्था सुधार्न प्रयास गरेका छन्, गाउँमा चाहिँ बिजोक भेटिन्छ ।’

मस्तिष्क पक्षाघातका कारण हुने अपाङ्गतालाई अझै पनि पूर्वजन्मको पापका रुपमा लिने गरिएको हुँदा उनीहरुलाई हेर्ने पारिवारिक र सामाजिक दृष्टिकोण अझै नकारात्मक रहेको उनले बताए । संस्थाले बालबालिकाका घरैमा पुगेर उनीहरुका समस्या खुट्याउने र उनीहरुलाई दिनुपर्ने स्याहार र सहयोगका बारेमा सिकाउँदै आएको भन्दै उनले संस्थाको पहलमा भरतपुर–१६ वडा कार्यालयले पीडित पराजुली परिवारलाई खाद्यान्न तथा खाट, सिरक, डसनालगायतका सामग्री तथा नेपाल रेडक्रस सोसाइटी विजयनगर उपशाखाले घरायसी सामग्रीहरु सहयोग गरेको बताए ।

संस्थाको पहलमा पीडित परिवारको वडा कार्यालयबाट स्वास्थ्य बिमा गराइएको उनले बताए । ‘धेरै बच्चाहरुले बेलैमा उपचार र फिजियोथेरापी पाएपछि सुधार भएका उदाहरण पनि छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट