Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनका किशोरीलाई एचपिभी खोप, पहिलो दिनमै आठ हजारले लगाए

चितवनका किशोरीलाई एचपिभी खोप, पहिलो दिनमै आठ हजारले लगाए

भरतपुर : चितवनमा पहिलो दिनमा पाठेघरको मुखको क्यान्सरविरूद्ध आठ हजार बढी किशोरीले एचपिभी खोप लगाएका छन् । माघ २२ गतेदेखि देशभर नै एचपिभी खोप अभियान चलेको छ । खोप अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानअन्तर्गत चितवनमा साढे ३१ हजार बढी किशोरीहरुले खोप लगाउने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका सातै पालिकामा खोप अभियान चलाइएको र उल्लेख्य किशोरीहरुको सहभागिता रहेको छ ।

जनस्वास्थ्य कार्यालयका अधिकृत राम केसीका अनुसार पहिलो दिनमा चितवनका सात पालिकामा जम्मा आठ हजार ५२० किशोरीले खोप लगाएका छन् । भरतपुर महानगरमा खोप लगाउने किशोरीको संख्या बढी छ । महानगर अन्य पालिकाको तुलनामा तेब्बर ठूलो छ ।

भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरूद्ध तीन हजार ३१२ किशोरीले एचपिभी खोप लगाएका छन् । महानगरका २९ वटा वडाका विद्यालयहरुमा चलाइएको खोप अभियान प्रभावकारी भएको अधिकृत केसीले बताए ।

यस्तै, रत्ननगर नगरपालिकामा एक हजार ९५, खैरहनी नगरपालिकामा ६०३, राप्ती नगरपालिकामा १ हजार ४३५, कालिका नगरपालिकामा ९०८, माडी नगरपालिकामा ६४५, इच्छाकामनामा ५२२ किशोरीहरुले खोप लगाएका छन् ।

स्वास्थ्यकर्मीहरुले विद्यालयमा पुगेर कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने छात्रा र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप लगाएका जनस्वास्थ्य कार्यालयका केसीले जानकारी दिए । विश्व क्यान्सर दिवसको अवसरमा देशभर तोकिएको उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवनमा ३१ हजार ५७० किशोरीलाई खोप लगाइने छ । विद्यालयभित्रका ३० हजार १९२ जना र विद्यालय नजाने एक हजार ३७५ जना किशोरीलाई खोप लगाइने छ । विद्यालय जाने किशोरीलाई विद्यालयमै र विद्यालय नजाने किशोरीलाई स्वास्थ्यकेन्द्रमा खोप लगाइने छ भने हिँडडुल गर्न नसक्ने अपाङ्गता र सुस्त मनस्थिति भएका किशोरीलाई घरमै लगाइने छ । चितवनमा ४३३ वटा विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिएको छ । जिल्लामा ४५५ जना स्वास्थ्यकर्मी र ९१० जना स्वयंसेवक खोप लगाउने अभियानमा खटिएका छन् ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना अर्थात् औसत दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको देखिन्छ । यसअघि आर्थिक वर्ष २०७२÷७३ र ०७३÷७४ मा गाभीको सहयोगमा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षण कार्यक्रमको रुपमा एचपिभी खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट