Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामना-२ मा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

इच्छाकामना-२ मा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

चितवन :नेपाल अर्थोपेडिक एसोसिएसन चितवन च्याप्टरले इच्छाकामना गाउँपालिकामा हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।इच्छाकामना-२ ओर्ल्याङमा ६ जना वरिष्ठ विशेषज्ञ डाक्टरहरुले हाडजोर्नी तथा नसासम्बन्धी बिरामीहरुको स्वास्थ्य जाँच गरेका हुन्। शिविरमा ४० जनाभन्दा बढी बिरामीलाई सेवा दिइएको एसोसिएसनका अध्यक्ष डा.अर्जुन श्रेष्ठले जानकारी दिए। हाडजोर्नी खिइएका, ढाड खिइएका, काम गर्नेक्रममा चोट पटक लागेर पैसाको अभावमा उपचार नगरी बस्दा बिग्रिएका बिरामीहरुको उपचार गरिएको उनले बताए।

एसोसिएसनका सचिव डा.प्रमोद लामिछानेले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले संस्थाले पहिलो पटक विकट क्षेत्रमा पुगेर शिविर आयोजना गरेको जानकारी दिए। ‘विकट क्षेत्रका विपन्न नागरिकले अति आवश्यक अवस्थामा पनि विशेषज्ञ सेवा नपाएको, घरेलु उपचार गरेर बस्ने गरेका कारण हामीले सम्बन्धित क्षेत्रमै पुगेर सेवा दिएका हौं,’ लामिछानेले भने, ‘शिविरमा निकै पुराना र बिग्रिएको अवस्थाका बिरामीहरु पनि आउनुभयो। हामीले उपचार गरेर आवश्यक औषधि उपलब्ध गराएका छौं।’ शिविरमा ६ देखि ७० वर्षसम्मका बिरामीहरुको उपचार गरिएको उनले बताए। हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरु डा.श्रेष्ठ, डा.लामिछाने, डा.शंकर ढकाल, डा.मनोज कँडेल, डा.दिपेन्द्र सुवेदी र डा.आनन्द कार्कीले बिरामीहरुको उपचार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट