Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

‘उद्योग दर्तामा जटिलताले हैरानी’, समाधान गर्न औद्योगिक नीति : मन्त्री तामाङ

‘उद्योग दर्तामा जटिलताले हैरानी’, समाधान गर्न औद्योगिक नीति : मन्त्री तामाङ

रत्ननगर : बागमती प्रदेशकी उद्योण, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकमाया तामाङले उद्योगमा गरिएको लगानी सुरक्षाका लागि औद्योगिक र वाणिज्य नीति बनाइने बताएकी छन् । चितवनको सौराहामा मंगलबार आयोजित व्यवसायीले भोग्दै आएका समस्याको पहिचान र त्यसको समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री तामाङले बागमती प्रदेशमा औद्योगिक र वाणिज्य नीति नभएका कारण व्यवसायीहरुले समस्या झेल्नु परेको बताइन् ।

उद्योग दर्ता र नवीकरणमा व्यवसायीले झेल्दै आएको समस्या समाधानका लागि व्यापार ऐन संशोधन तथा औद्योगिक र वाणिज्य नीति निर्माणको चरणमा प्रदेश सरकार रहेको उनले बताइन् । ऐन, कानुन र कार्यविधि निर्माण र संशोधनपछि व्यवसायीले भोग्दै आएका अधिकांश समस्याको हल हुने उनको भनाइ छ । बागमती प्रदेश सरकारले औद्योगिकग्राम निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको भन्दै उनले नियम र कानुनको परिधिले बाँधेका कारण त्यसको कार्यान्वयनको चरण सुरू हुन नसकेको बताइन् ।

लगानी सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले निराश नभई उत्साहजनकरुपमा उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन् । उद्यमशीलता विकासका लागि अनुदानका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाएको भन्दै मन्त्री तामाङले स्थानीय उत्पादनसँग जोडिएका घरेलु उद्योग सञ्चालनका लागि ५० प्रतिशत अनुदानमा उपकरण प्रदान गरिएको बताइन् ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले उद्योग दर्ता र नवीकरणमा परेको समस्या समाधानका लागि वातावरण संरक्षण ऐन संशोधनको प्रक्रियामा रहेको बताए । ‘वातावरण प्रभाव मूल्याङ्कनको काम जटिन देखियो’, उनले भने, ‘त्यसको सहजताका लागि ऐन संशोधनको प्रक्रिया सुरू भएको छ ।’

उद्योग तथा वाणिज्य कार्यालय चितवनले आयोजना गरेको कार्यक्रममा चितवनका व्यवसायीहरुले उद्योग दर्ता र नवीकरणको प्रक्रिया सरल नभएका कारण सास्ती खेप्नु परेको गुनासो गरेका छन् । सरकारले नीति गलत हुँदा उद्योगमैत्री वातावरण तयार हुन नसकेको भन्दै उनीहरुले राज्यले तोकेअनुसारको कर तिर्दा पनि उद्योग सञ्चालनमा सास्ती झेल्नु परेको बताए । व्यवसायीहरुले उद्योग दर्ता र नवीकरण, राज्यको दोहोरो कर नीति र विद्युत्को भोल्टेजमा हुने उतारचढावका कारण हैरानी खेप्दै आएको मन्त्रीलाई सुनाए ।

चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले व्यवसायीका समस्या समाधानका लागि स्थानीय तहमा औद्योगिक डेस्क स्थापनाका लागि गरेको पहल सफल हुन नसकेको बताए । कार्यक्रममा चितवन उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, व्यवसायी दीपक चापागाईं, महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोती, महिला उद्यमीहरु विन्दु शर्मा र ईश्वरी सिंखडा थापासँगै चितवन उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदीले उद्योग स्थापनामा व्यवसायीले भोगेका समस्याका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए । उनीहरुले उद्योग दर्ता र नवीकरणमा ऐन, कानुन मात्र समस्या नभई कतिपय कर्मचारीहरुले समेत नियतवश दुःख दिने गरेको गुनासो गरे ।

उद्योग तथा वाणिज्य कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख दिनेश सुवेदी, कृषि विकास कार्यालय चितवनका अध्यक्ष झलकप्रसाद कँडेल, चितवन उद्योग वाणिज्य–संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायणकाजी श्रेष्ठ, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय भरतपुरकी उद्यम विकास सहजकर्ता रन्जु भट्टले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट