भरतपुर : भरतपुर अस्पतालमा बिरामीले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरी लिन सक्ने व्यवस्था गरिएको छ । नमुना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड मेसिनमा स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन् । क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको ट्रायल सफल भएको र बिहीबारदेखि बिरामीले प्रयोग गर्न सक्ने अस्पतालले बताएको छ ।
दुई दिनको ट्रायल सफल भएपछि सेटिङ मिलाएर राखिएको छ । मेसिनबाट एक मिनेटमा तीनवटासम्म रिपोर्ट निकाल्न सकिने भरतपुर अस्पतालका प्राविधिक सिएम बस्यालले बताए । अस्पतालले यो मेसिन करिब सात लाख रूपैयाँमा खरिद गरेको हो । अर्काे एउटा मेसिन पनि खरिद गर्ने योजना रहेको उनले बताए । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने विश्वास लिइएको छ ।
‘ल्याबमा नमुना सङ्कलन गर्दा बिलसँगै हामीले क्युआर कोड दिन्छौँ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न मिल्छ, त्यसलाई प्रिन्ट गरेर लिन पनि सकिन्छ’, उनले भने । उक्त मेसिनलाई टिकट काउन्टरअगाडि राखिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने उनले बताए ।
‘मोबाइलमा क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न सकिन्छ । त्यसलाई डाउनलोड गरी पिडिएफ फाइलमा सुरक्षित गर्न सकिन्छ । अनि उक्त फाइल आफूलाई आवश्यकताअनुसार प्रिन्ट गर्न सकिन्छ’, उनले भने, ‘एक जनाले एकपटक मात्रै रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन् । कुनै बिरामीको मानौँ पाँचवटा रिपोर्ट आउनुपर्नेमा तीनवटा मात्रै देखियो भने त्यसलाई प्रिन्ट गरेर लिन सकिन्छ । निश्चित समयपछि अर्काेपटकमा बाँकी दुईवटा रिपोर्टमात्रै प्रिन्ट गर्न सकिन्छ ।’
छ दिनदेखि बिरामीको उपचार गर्दै डा. केसी
चिकित्सा क्षेत्र सुधारका अभियन्ता एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले विगत छ दिनदेखि भरतपुर अस्पतालमा बिरामीको उपचार गरिरहेका छन् । उनले गुपचुपरुपमा बिरामीको निःशुल्क उपचार गरेका हुन् । डा. केसीले ओपिडी र वार्डमा भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार माघ ९ गतेदेखि डा. केसीले भरतपुर अस्पतालमा बिरामी हेरिरहेका छन् । डा. केसीले देशका विभिन्न जिल्लामा पुगेर बिरामीको निःशुल्क उपचार गर्दै आएका छन् । भरतपुर अस्पतालमा अझै एक साता रहेर बिरामीको निःशुल्क उपचार गर्ने डा. केसीले बताए । ‘आफूले जानेका कुरा सिकाउने र यहाँका चिकित्सक साथीहरुबाट केही सिक्ने अवसर पाएको छु’, डा. केसीले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij