काठमाडौं : चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा झण्डै एकछत्र जस्तै राज गरिरहेको वाइवाइको व्यापारमा एशोदा फुड्सको करेन्ट चाउचाउले कडा चुनौति दिएको छ । फोब्समा सूचीकृत नेपालका एक मात्रै अर्बपति विनोद चौधरीले अन्तर्राष्ट्रियस्तरमा देखाउने आफ्नो मुख्य ब्राण्ड वाइवाइको व्यापारलाई पहिलो पटक वास्तविक अर्थमा करेन्टले धक्का दिएको हो । नेपाली बजारमा एकाधिकार जस्तै व्यापार गरेको वाइवाइसँग प्रतिस्पर्धा गर्न एशोदा फुड्स आक्रामक बजार रणनीतिसहित प्रस्तुत भएको छ ।
अहिले नेपालको चाउचाउ बजारमा खास यिनै दुई प्रतिस्पर्धी देखिएका छन् । जम्माजम्मी सात वर्षअघि स्थापना भएको करेन्टले दशकौं पूरानो वाइवाइको बजार हिस्सा खोसिरहेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय बन्दै गएको छ ।
हालै मात्र एशोदा फुड्सले वाइवाइका पूर्व ग्लोबल कार्यकारी निर्देशक जीपी साहलाई भित्राएर आफ्नो ग्लोबल कार्यकारी निर्देशक बनाएको छ । वाइवाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन प्रमुख भूमिका खेलेका साहको प्रवेशले करेन्टको बजार विस्तारमा थप तीब्रता लिने देखिन्छ ।
सीजी फुड्समा २४ बर्षभन्दा लामो समय बिताएर साह अवकाश भएका थिए । एशोदा फुड्समा उनको प्रवेशसँगै वाइवाइ र करेन्ट दुई प्रतिस्पर्धी ब्राण्डमा मात्र सीमित नभएर ‘कर्पोरेट वार’ सुरु भएको रुपमा हेरिएको छ । जीपी साह वाइवाइ छोडेर तत्कालै करेन्टमा भित्रिएका भने होइनन् । यशोदा फुड्समा प्रवेश गर्नुअघि उनी भारतको कोलकातास्थित स्न्याक्स, खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी अन्नपूर्ण स्वादिष्टमा एडिसनल डाइरेक्टर तथा ज्वाइन्ड म्यानेजिङ डाइरेक्टर भएर काम गरेका थिए ।
त्यसअघि साह चौधरी ग्रुपको एफएमसीजी डिभिजनको ग्लोबल सीईओ भएर काम गरेका थिए । साह सन् २०२३ जुनमा मात्र सीजीबाट बाहिरिएका थिए । सम्बन्धित क्षेत्रमा अनुभवी र दक्ष जीपी साहको प्रवेशसँगै करेन्ट चाउचाउको थप उचाई बढेको र बजार विस्तारमा सहयोग पुग्ने विश्वास आफूहरुले लिएको यशोदा फुड्सका सञ्चालक नरेश्वरी पौडेलले कर्पोरेट नेपाललाई बताए ।
अहिले पनि एशोदा फुड्सले विश्वका १८ भन्दा बढी देशमा करेन्ट चाउचाउ निर्यात गरिरहेको छ । दक्ष र अनुभवी साहको प्रवेशसँगै अब यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । निर्यातको हिस्सा पनि बढ्ने देखिन्छ । निर्यात बढाउने रणनीतिमा कम्पनी रहेको बताउँदै आफूहरु उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र मिठो स्वादमा उत्पादन दिन प्रतिवद्ध रहेको बताए ।
एकातिर वाइवाइको गुणस्तरमा गम्भीर प्रश्न उठिरहेको र काठमाडौं महानगरपालिकाले दण्डित समेत गरिरहेको बेला अर्कोतिर करेन्टले अकबरे (डल्ले) खुर्सानीको प्रयोग गरी अर्गानिक उत्पादन बिक्री गरी उपभोक्ताको मन जित्ने प्रयास गरेको छ । चाउचाउमा प्रयोग हुने पिरो तथा अन्य रासायनिक वस्तु अहिले उपभोक्ताको चासोको विषय बन्दै आएको छ । गुणस्तरको हिसाबले पनि करेन्ट राष्ट्रिय बजार मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत वाइवाइको गतिलो प्रतिस्पर्धी बन्ने प्रयासमा लागेको छ ।
वाइवाइ भर्सेज करेन्ट ‘वाइवाइ’ चाउचाउ चौधरी समूह अन्तर्गतको सिजी फुड्स प्रा.लि.ले उत्पादन गर्छ । सन् १९८४ देखि नेपालमा वाइवाइको उत्पादन गरिरहेको कम्पनीले पछिल्लो समय दोस्रो तथा तेस्रो मुलुकमा समेत कारखाना राखेर व्यवसायिक उत्पादन गरिरहेको छ ।
आफ्नो ४१ वर्षे व्यापारमा चौधरी ग्रुपले भारतको विभिन्न शहरसहित बंगलादेश, काजकास्तान, इजिप्टसहित युरोपियन मुलुक सर्वियामा समेत कारखाना खोलेर वाइवाइ चाउचाउको व्यापार गरिरहेको छ । स्वदेशी तथा विदेशीमा गरी कम्पनीले वार्षिक तीन अर्ब प्याकेट (दुई लाख २५ हजार मेट्रिक टन) तयारी चाउचाउ उत्पादन गर्नेगर्छ ।
यसमध्ये करिब ३५ प्रतिशत बजार हिस्सा नेपालमा र बाँकी बाह्य बजारमा खपत हुने गरेको चौधरी ग्रुपले बताउने गरेको छ । ‘मिसन २०२८’ अन्तर्गत चौधरी ग्रुपले वाइवाइको बजार बढाउँदै युरोप र अमेरिकी देशहरुमा समेत विस्तार गर्ने र वार्षिक पाँच अर्ब प्याकेट पुर्याउने घोषणा गरेको छ । तर चौधरी ग्रुपको त्यो महत्वाकाँक्षी योजनालाई करेन्टको उपस्थिति र आफ्नो उत्पादनमाथि उठेको गुणस्तरको प्रश्न ठूलो चुनौति बनेको छ । सन् २०२८ भित्र अमेरिकी देशहरुमा वाइवाइको कारखाना खोल्न नसक्ने अवस्थामा चौधरी समूह पुगेको छ ।
वाइवाइको ब्राण्ड छवी जोगाउन चौधरी समूहले प्रश्न उठाउनेहरुप्रति कडा नीति लिँदै आएको छ । वाइवाइको आलोचना गर्ने व्यक्ति तथा मिडियाहरुप्रति कानुनी अस्त्र प्रयोग गर्दै आए पनि सामाजिक सञ्जालले गर्दा जनस्तरमा वाइवाइप्रति विश्वास कम हुँदै जाने, बरु करेन्ट चाउचाउ लोकप्रिय बन्दै जाने अवस्था सिर्जना भएको छ । खेलकुद क्षेत्रमा सहयोग र सामाजिक कार्यमार्फत आफ्नो ब्राण्डको सामाजिक छवी जोगाउने प्रयास चौधरी समूहले गरे पनि चाउचाउ व्यापारको एकछत्र राज भने अन्त्य हुने परिस्थिति जबरजस्तरुपमा निर्माण भएको छ । 
प्रतिस्पर्धी ‘करेन्ट’ नेपाली बजारमा उदाएको ब्राण्ड ‘करेन्ट’ यशोदा फुड्सको उत्पादन हो । सन् २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा राम्रो छाप राख्न सफल भएको छ । चाउचाउ बजारमा ‘हट एण्ड स्पाईसी’को आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले पछिल्लो पटक नेपाली बजारमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा समेत तहल्का पिटिरहेको छ ।
केही समयअघिसम्म पिरो र मसलादार स्वादका चाउचाउ नहुँदा केही कोरियन र जापानी नुडल्सहरुले नेपालको बजार लिइरहेको थियो । तर, कम्पनीले सोही बजारलाई बुझेर स्वदेशमा नै सुलभ मूल्यमा स्वादिलो र पिरो चाउचाउ उत्पादन थालेपछि आयातित चाउचाउहरु विस्तापित भएका छन् । त्यो पिरो पनि अन्य चाउचाउको जस्तो नभई स्वस्थकर भएकाले पनि ग्राहकले बढि मन पराएको हुन् ।
आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै जाँदा एशोदा फुड्सले आफ्नो कारखाना पनि थप्दै गएको छ । पाँच वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चिजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो । वाइवाइ, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मेहनत गरेको कम्पनीले पछिल्लो समय विभिन्न स्वाद र प्याकेटमा करेन्ट चाउचाउ उत्पादन गरिरहेको छ, जसले कम्पनीलाई स्थापित गराएको सञ्चालक नरेश्वरी पौडेलले कर्पोरेट नेपालसँग बताए ।
‘करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकैले बजारमा स्थापित बन्न सफल भएका हौं’ पौडेलले भने, ‘स्वदेशी बजारमा मात्र होइन आज विश्वका करिब दुई दर्जन मुलुकहरुमा करेन्टको उच्च माग छ ।’
कम्पनीका अनुसार हाल दैनिक २० टन अर्थात् १८ हजार प्याकेट करेन्ट चाउचाउ उत्पादन हुन्छ । तर, बजारको माग बढ्दा पछिल्लो समय यो उत्पादनले बजारको माग धान्न हम्मेहम्मे परिरहेको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।
हाल कम्पनीले वार्षिक वार्षिक ३० हजार नौ सय मेट्रिकटन (करिब ३१ करोड प्याकेट) करेन्ट चाउचाउको उत्पादन तथा निर्यात गरिरहेको छ । कम्पनीले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, कोरिया, जापान, नेदरल्याण्ड, मलेसिया, पाकिस्तान लगायत विश्वका अरु देशहरुमा समेत करेन्ट चाउचाउको निर्यात गर्दै आएको छ । कम्पनीका अनुसार वार्षिक एक अर्ब ३० करोड रुपियाँ बढीको चाउचाउ विदेश निर्यात हुँदै आएको छ ।
व्यापार सफलता एशोदा फुड्सको व्यापार तथ्यांक हेर्दा एकै वर्ष झण्डै ५० प्रतिशतले व्यापार बढेको छ । तीन वर्षअघि सन् २०२१ मा कम्पनीले दुई अर्ब ६६ करोड ६० लाख रुपियाँ बराबरको चाउचाउको व्यापार गरेको थियो । यसैगरी सन् २०२२ मा तीन अर्ब ४३ करोड २० लाख रुपियाँ बराबरको व्यापार गरेकोमा पछिल्लो वर्ष सन् २०२३ मा कम्पनीले चार अर्ब ९६ करोड ४० लाख रुपियाँ बराबरको व्यापार गर्न सफल भयो । यो पछिल्लो वर्ष कम्पनीले गरेको व्यापारको झण्डै ४५ प्रतिशतले बढी हो ।
चाउचाउको बढ्दो लोकप्रियतासँगै बढेको बजार मागले व्यापारमा तीब्र वृद्धि आएको कम्पनीले जनाएको छ । यस्तो व्यापार सन् २०२४ मा पाँच अर्बमाथि पुगेको कम्पनीको दाबी छ । यसरी करेन्टको बजार आक्रामक रुपमा बढ्दैगर्दा यता चार दशकदेखि यही बजारमा एकछत्र राज गर्दैआएको वाइवाइमाथि चुनौती बढेको छ । व्यापारको बजार हिस्सा अब करेन्टले थप खोस्ने स्थिति बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij