हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको चार करोड ५० लाख र करिब दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए । उनले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताए ।
“जनप्रतिनिधि र स्थानियको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेकोछ”, उनले भने, “पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।” उनले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिए ।
रङ्गशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij