म्याग्दी : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगानीमैत्री वातावरण निर्माण गर्नसके मुलुकको आर्थिक समृद्धि हासिल हुने बताउनुभएको छ । आइतबारदेखि म्याग्दीको बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला–२०८१ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले देशभित्र रहेका प्राकृतिक स्रोतसाधनहरुको परिचालन गरेर त्यसलाई उद्यमको क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीको सिर्जना गर्न सकेमा आर्थिक समृद्धि हासिल गर्नेतर्फ मुलुक अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँले प्राकृतिक स्रोतहरुको प्रचुर सम्भावना रहेको नेपालमा तीनै स्रोतहरुको परिचालन गरेर देशको विकासमा केन्द्रीत गरी उद्यमबाट रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
‘कोरोना महामारीसँगै विश्वव्यापी आर्थिक मन्दीका कारण सबैतिर उद्योग, व्यवसायले भोग्नुपरेको विविध कठिनाइको बारेमा हामी सबै जानकार नै छौं । उद्योग, वाणिज्यमैत्री कानुन निर्माण, लगानीमैत्री वातावरण, स्रोतसाधनहरुको समुचित प्रयोग तथा उद्यमशिलताको भावना भए मात्रै मुलुकको आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्भव हुन्छ । यसका लागि खासगरी स्वदेशी तथा स्थानीय लगानीकर्तालाई प्रोत्साहन गरी बेरोजगार युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्न र उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ’ सभापति देउवाले भन्नुभयो ।
सभापति देउवाले प्राकृतिक स्रोत तथा साधनहरुको प्रयोग र व्यवस्थापनको कार्यमा निजी क्षेत्रको सहभागिताका लागि आवश्यक कानुन तथा नीतिनियम बनाउन वर्तमान सरकार र राजनीतिक दलबाट प्रयास भैरहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनहरुको समुचित प्रयोग र लगानीमैत्री वातावरण बनाएर उद्योग, व्यवसाय धराशायी हुनबाट जोगाउन नीतिगत रुपमा सच्याउनुपर्ने बताउँदै यसका लागि आवश्यक नीतिनियम बनाएर सुधार गर्नेतर्फ पहल गरिएको बताउनुभएको छ । देश विकासका लागि निजी क्षेत्रको सहयोग र लगानी आवश्यक रहेको भन्दै उहाँले यसका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
देशभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय र निजी क्षेत्रलाई परेको समस्याहरुको समाधान गर्नका लागि नेपाली कांग्रेस सधैँ साथमा रहेको सभापति देउवाको भनाइ छ । उहाँले म्याग्दी भएर ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडकको स्तरोन्नति गरी यो सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्नका लागि आवश्यक बजेटसहित पहल गर्ने बताउनुभयो । ५० शैया क्षमताको बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन सम्बन्धित निकायलाई निर्देशन दिने, बेनीको खुलामञ्चको स्तरोन्नति गर्ने, सदरमुकाम बेनीबजारको संरक्षण तथा मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम छिटो सक्न बजेट व्यवस्थापनको साथै सम्बन्धित निकायमा पहल गर्ने सभापति देउवाले बताउनुभएको थियो ।
जिल्लाको कला, संस्कृति र भेषभूषाको पहिचानको साथमा प्रदर्शनी तथा कृषिजन्य स्थानीय एवं अर्गानिक उत्पादनहरुको प्रदर्शन, बिक्री, वितरणसहित बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमार्फत म्याग्दी जिल्लाको सम्भावनाहरुलाई उजागर गर्ने लक्ष्य समेत रहेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको हो ।
हरेक तीन वर्षको अन्तरालमा म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव आयोजना हुँदै आएको छ । वि.सं. २०६० सालबाट म्याग्दी महोत्सव आयोजना गर्न थालिएकोमा हरेक तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गरिँदै आइएको छ । गतवर्ष तीन दिनसम्म माघेसङ्क्रान्ति मेलाको आयोजना गरिएको थियो भन यसवर्ष आयोजित महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij