काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन् ।राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिक रूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिएका हुन् ।
“राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्”, उपराष्ट्रपति यादवले भनेका छन् ।
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ। यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्याउनेलाई सम्झिने दिनको रूपमा पनि हेरिन्छ।
उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन दिवसले एउटा मञ्च प्रदान गर्ने जनाउँदै नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिने विविध कार्यक्रमले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न सबैलाई उत्प्रेरित गर्न सक्नुपर्ने उनको भनाइ छ।
“दिवसले युवाहरूलाई आफ्नो मातृभूमि र देशप्रति समर्पण एवं सेवाको भावना विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसके मात्र यसको सार्थकता पुष्टि हुन सक्दछ, नेपालको इतिहास, संस्कृति र वैभवशाली सम्पदाप्रति गौरवको भावनालाई बढावा लिने सुन्दर अवसरका रूपमा यसको उपयोग गर्नुपर्दछ”, उनले आफ्नो सन्देशमा भनेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij