Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन प्रहरी एकसनमा उत्रिदा एकमहिनामै २ सय ४७ फरार प्रतिवादी पक्राउ

चितवन प्रहरी एकसनमा उत्रिदा एकमहिनामै २ सय ४७ फरार प्रतिवादी पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्न प्रहरीले अदालतमा उपस्थित गराउने गरेको छ । चितवन प्रहरीले एक महिना नपुग्दै २४७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पुस २४ गते बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । ‘अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ । स्थायी वतन अर्को जिल्ला भएर यहाँ आएर अपराध गरी भागेकालाई समात्नु चुनौतीपूर्ण छ’, उनले भने ।

पक्राउ परेका प्रतिवादीहरु जालसाजी, जुवा, सम्बन्धविच्छेद, सार्वजनिक अपराध, किर्ते, लागूऔषध, चेक अनादर, चोरी, गाली बेइज्जतीलगायत मुद्दाका रहेका उनले बताए । २०७५ सालअघि सार्वजनिक अपराध मानिने मुद्दालाई त्यसयता अभद्र व्यवहार भनी कानुनी व्यवस्था गरिएको छ । उनका अनुसार २४७ जना प्रतिवादीबाट ४७ लाख तीन हजार रूपैयाँ जरिवाना र दुई वर्ष सात महिना २० दिन कैद सजाय असुल गरिएको छ ।

‘हामीले ३५ वर्षअगाडि अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई पनि पक्राउ गरी फैसला कार्यान्वयन गराएका छौँ’, उनले भने ।

२०४५ सालमा चोरी मुद्दामा दोषी ठहर भई अदालतबाट १९५ रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कैद सजाय तथा जरिवाना असुल गर्नका लागि अदालतले फरार प्रतिवादीको सूची प्रहरी कार्यालयमा पठाउने गर्छ । सोही आधारमा फरार प्रतिवादी खोजेर प्रहरीले अदालतमा उपस्थित गराउँछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट