Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवघाट दिव्यधाम शिलन्यासको पन्च दिवसीय अनुष्ठान :  सर्व विघ्न विनाशक यज्ञ सम्पन्न

देवघाट दिव्यधाम शिलन्यासको पन्च दिवसीय अनुष्ठान :  सर्व विघ्न विनाशक यज्ञ सम्पन्न

देवघाट : ऐतिहासिक देवघाट दिव्यधाममा चलिरहेको पाँच दिवसीय शिलन्यास अनुष्ठानको तेस्रो दिन सर्व विघ्न विनाशक यज्ञ सम्पन्न भएको छ। समस्त विघ्न बाधाहरु दूर भएर कार्य सहज सिद्धि होस् भनि गरिएको यस यज्ञमा डा.श्रीवास कृष्ण दास ब्रह्मचारीको आचार्यत्वमा  रुपानुगा परा विद्यापीठ,  नृसिंह धाम सल्यानटारका शिक्षक र विद्यार्थीहरूले वेद पाठ तथा होम कार्य सम्पन्न गरेका हुन्।

विशेष अनुष्ठानमा देवघाट दिव्यधाम र मातापिता सेवाश्रमका परिकल्पनाकार एवं देवघाट महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले विशेष हवन गर्दै धार्मिक वातावरणलाई अझ उत्साहामूलक भएको दावी गरेका छन् ।

देवघाट महामहोत्सव २०८१, माघ महिनाभर आयोजना गरिने यो भव्य महोत्सव, धार्मिक, सांस्कृतिक, र आध्यात्मिक उन्नतिका लागि एक विशेष अवसरका रूपमा रहेको छ। महोत्सवको मुख्य उद्देश्य देवघाट क्षेत्रलाई धार्मिक पर्यटन, सांस्कृतिक उत्थान, र आध्यात्मिक जागरणको केन्द्रका रूपमा विश्वभर चिनाउनु हो।

महोत्सवमा विशेष पूजा, अर्चना, दानकार्य, र विभिन्न धार्मिक अनुष्ठानहरू गरिंदैछन्। आयोजकका अनुसार, यो महोत्सवले देवघाट क्षेत्रको धार्मिक महत्त्वलाई थप प्रवर्द्धन गर्नेछ। यसका साथै, देवघाट दिव्यधाम र मातापिता सेवा आश्रमको निर्माणले नेपालका धार्मिक पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

महोत्सव आयोजकहरूले एक(एक जग शिला समर्पण गर्ने पुण्य कार्यमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई हार्दिक आह्वान गरेका छन्। यो पवित्र योगदानले देवघाटको धार्मिक, सांस्कृतिक, र आध्यात्मिक महत्त्वलाई अझ विस्तार गर्ने विश्वास गरिएको छ।

देवघाट, हिन्दू धर्मावलम्बीहरूको लागि मोक्ष प्राप्तिको पावन स्थल र आदिप्रयागका रूपमा प्रख्यात, गण्डकी र त्रिशूली नदीको संगमस्थलमा अवस्थित छ। प्राचीनकालदेखि साधु सन्तहरूको तपोभूमि र देवताहरूको स्नानस्थल रहँदै आएको यो क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटनको केन्द्रका रूपमा ख्याति प्राप्त गरिरहेको छ।

माघ महिनाभर चल्ने देवघाट महामहोत्सव २०८१ ले धार्मिक पर्यटन, सांस्कृतिक उन्नति, र आध्यात्मिक जागरणको माध्यमबाट नेपाललाई विश्वसामु थप परिचित गराउने अपेक्षा गरिएको छ।

महोत्सव आयोजक विश्व जागरण महाअभियान ट्रस्टका संचार प्रमुख नारायण भण्डारीका अनुसार, यो विशेष क्षणमा सहभागी भई पुण्य लाभ आर्जन गर्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट