गोरखा : गोरखा सदरमुकामदेखि पश्चिम उत्तरमा रहेको भच्चेक आधारभूत अस्पतालले केही दिनभित्रै नयाँ भवनबाट सेवा दिने भएको छ ।अजिरकोट गाउँपालिका-३ को भच्चेक बजारमा रहेको उक्त अस्पतालले यही माघ १ गतेदेखी नयाँ भवनबाट सेवा दिन लागेको डा.रामानन्द चौधरीले बताउनु भयो।
‘ठेक्का अनुसार भवन निर्माण भएर ठेकेदार कम्पनीले हस्तान्तरण गर्यो’ उनले भने ‘तर त्यसमा आवश्यक फर्निचर ठेक्का भित्र नपरेकाले हामीले बनाउँदै छौँ । आज भोलिमा फर्निचरको काम पनि सकिन्छ ।’ अजिरकोट गाउँपालिका मार्फत सञ्चालनमा आउने उक्त अस्पतालमा अहिले आवश्यक फर्निचरहरु धमाधम बन्दै छन् ।
डा.चौधरीका अनुसार पुरानो अस्पतालको काम लाग्ने सामान पनि नयाँ भवनमा सार्ने र नपुग्ने फर्निचरमात्र बनाउन लागिएको हो । फर्निचर बनेर फिटिङको कामसमेत अन्तिम चरणमा भएकोले माघ १ गतेदेखि नै नयाँ भवनबाट सबै सेवा सञ्चालनमा आउने छन ।५ शैय्याको उक्त अस्पतालको नयाँ भवन ७ करोडमा निर्माण सम्पन्न भएको हो । प्रदेश सरकारमार्फत बनेको उक्त भवनमा सोलार र ईन्टरनेट तथा स्विचिङका सबै काम सम्पन्न भएका छन ।
बिरामी तथा कुरुवाको सुविधाको लागि केही दिन अगाडि मात्र नेपाल टेलिकममार्फत फाइबर हालेर ईन्टरनेट सेवा जडान गरिएको छ । सुविधा सम्पन्न उक्त भवनमा अन्तरंग तथा बहिरंगसहित, शल्यक्रिया कक्षको समेत स्थापना गरिएको छ ।
१ जना डाक्टर, ३ जना नर्स, ६ जना अहेब, १ जना हेल्थ असिस्टेन्ट, ३ जना कार्यालय सहयोगी र १ जना एम्बुलेन्स चालक रहेको अस्पतालले सार्वजनिक बिदाको दिन बाहेक सबै दिन बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक तथा प्रसुती सेवा, गर्भ पतन तथा परिवार नियोजन, भिडियो एक्स-रे, ईसिजी, प्रयोगशाला, एम्बुलेन्स सेवा तथा चौबिसै घण्टा औषधि बितरण कक्ष खोल्ने गरिएको डा.चौधरीले जानकारी दिनु भयो।
उहाँको अनुसार अस्पतालको आफ्नै फार्मेसीबाट बिरामीहरुले औषधि खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ ।अस्पतालले बिरामीहरुलाई ९२ प्रकारको औषधिहरु निःशुल्क बितरण गर्दै आएको छ । त्यस बाहेकका औषधि खरिदमा बिरामीले छुट पाउने ब्यवस्था मिलाएको पनि डा.चौधरीले जानकारी दिनुभयो ।
सामान्यतया दैनिक जसो २० देखि २५ जना बिरामी जाँचका लागि आउने भएता पनि कुनै दिन ८० जनासम्म बिरामीले उक्त अस्पतालबाट सेवा लिएको अस्पतालको रेकर्डमा देखिन्छ ।अस्पतालले लैंगिक तथा यौन हिंसामा परेका पीडितलाई परामर्श दिनुका साथै आँखा उपचार, निःशुल्क क्षयरोगको औषधि बितरण तथा परामर्श तथा प्रत्येक महिनाको १४ गते गर्भवती आमाको निःशुल्क भिडियो एक्स–रे गर्दै आएको पनि डाक्टर चौधरीले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij