काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ ।
बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उहाँले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो ।
शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “ शान्तिप्रक्रियालाई जटिल मोडमा पुर्याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।”
शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उहाँले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्ने बताउनुभयो ।
एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताउनुभयो । “शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।”
पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij